Hotel Flora Long Ad

भारतबाट आएका नेपालीमध्ये एकैदिन चार जनामा कोरोना संक्रमण, संक्रमितलाई सोझै घर पठाइँदै

सुदूरपश्चिम प्रदेश फेरि कोरोनाको उच्च जोखिममा परेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीब्र बनेका बेला सोही ठाउँबाट नेपालीहरु आउन थालेपछि जोखिम बढेको हो ।

भारतमा कोरोना बढेको र त्यही बेला नेपालमा पनि होली र विसु पर्व नजिकिएपछि कामको सिलसिलामा त्यहाँ गएका नेपालीहरु अहिले धमाधन स्वदेश फर्किन थालेका हुन् ।

मंगरबार मात्रै भारतबाट आएकाहरुमध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट आएका तीन सय १५ जनामध्ये चार जनामा ‘एन्टीजेन’ परीक्षणमा कोरोना पुष्टि भएको सीमा नाकामा खटिएका पुनर्वास नगरपालिकाका अहेब गणेश साउँदले जानकारी दिए ।

स्वदेश फर्किएकामध्ये शंकास्पद एक सय जनाको चेकजाँच गर्दा चार जनामा कोरोना देखिएको उनले बताए । उनकाअनुसार कैलालीको टीकापुर नगरपालिकाका दुई र भजनी नगरपालिकाका दुई/दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएकाहरुमध्ये पनि महाराष्ट्रबाट आएका व्यक्तिहरुलाई बढी निगरानीमा राखिएको छ ।भारतमा अहिले सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण बढेको छ । उनका अनुसार तीन दिनमा सात जनामा कोरोना संक्रमण देखिइसकेको छ ।

अहिले दैनिक सुदूरपश्चिमका दुई नाकाबाट गरी एक हजार जनाको हाराहारीमा नेपालीहरु भारतबाट आइरहेका छन् । गौरीफन्टा नाकाबाट गएको ५ गतेदेखि दुई हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् ।

सीमा चेकजाँचको काम तीनदेखि अघिदेखि मात्रै सुरु भएको हो । अहिले पनि जनशक्ति अभावमा सबैको तथ्यांक राख्न नसकिएको अहेब साउँदको भनाई छ । उनले स्वास्थ्यकर्मीसंगै प्रशासनले पनि प्रहरी जनशक्ति बढाए मात्रै सबैको तथ्यांक राखेर चेकजाँच गर्न सकिने बताए ।

भारतबाट अहिले दैनिक चार सय जनाको हाराहारीमा नेपालीहरू आइरहेको भएपनि सीमा स्वास्थ्यकर्मीको संख्या भने न्युन छ । कंचनपुरको पुनर्वास नगरपालिकाबाट दुई जना र स्वास्थ्य कार्यालय कैलालीबाट दुई जना मात्रै खटाइएको छ । त्यसमा पनि ‘सिफ्ट’मा जनाको भरमा नाकामा चेकजाँच हुने गरेको छ ।

संक्रमितलाई बेवास्ता
भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएपनि उनीहरुको बेवास्ता गरिएको छ । कोरोना पुष्टि भएपनि संक्रमितसंगै आएका व्यक्तिसंगै उनीहरुलाई पनि घर पठाइने गरिएको पाइएको छ ।

‘कोरोना पुष्टि भएपछि सम्बन्धित नगरपालिका, स्वास्थ्य कार्यालय र डब्लुएचओको कार्यालयमा सम्पर्क गरेर जानकारी गराएकै छुँ,’ अहेब साउँदले भने, ‘कसैले पनि कुनै रेस्पोन्सनै नदिएपछि म एक्लैले के गर्न सक्छु । होम आइसोलेसनमा बस्नुहोला भनेर सल्लाह दिँदै घर पठाउनुको विकल्प छैन ।’

डब्लुएचओको नेपालका लागि सम्पर्क कार्यालयले पनि डाइरेक्टरलाई सोधेर भन्छु भनेपनि पछि कुनै सुनुवाई नगरेको उनले बताए । उनले मंगलबार संक्रमण पुष्टि भएकाहरुलाई पनि सल्लाह दिएर सोझै घर पठाइएको जानकारी दिए ।

स्वास्थ्य कार्यलयका ल्याब असिस्टेन्ट विकास वडले पनि होम आइसोलेसनमा बस्न सुझाव दिएर पठाउने गरिएको बताए । उनले पहिले जस्तो संक्रमितलाई यतैबाट व्यवस्थित गर्ने कार्य नभएको बताए ।


११ चैत २०७७, बुधवार ०७:४४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु