विद्युत सर्ट भएर घरमा आगलागी, चार जना घाइते
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा चार जना घाइते भएका छन् ।
मंगलबार दिउँसो साढे ३ बजेको समयमा एक्कासी विद्युतमा आएको खराबीका कारण विद्युत सर्ट हुँदा स्थानीय चक्र बोगटीको घरमा आगलागी भएको हो । आगलागीबाट घर जलेर नष्ट भएको छ भने चार जना महिला घाइते भएका छन् ।
आगलागीबाट रत्ना बिक, पार्वती बोगटी, सरस्वती बोगटी र एक जनाको नाम खुल्न बाँकी रहेको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए । उनकाअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये दुई जनालाई शैलेश्वरी अस्पताल र एक जनालाई जिल्ला अस्पतालमा पठाइएको अध्यक्ष बोगटीले जानकारी दिए । एक जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
विद्युत कर्मचारीले ट्रान्र्फमरबाट डाईरेक्ट लाइन छोडेका कारण उक्त दुर्घटना भएको हुनसक्ने आँकलन गरिएको अध्यक्ष बोगटीको भनाई छ ।
आगलागीबाट घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि जलेर नष्ट भएको छ भने संगै रहेको गोठ पनि जलेको छ । आगलागीसंगै काडामाण्डौँ गाउँको विद्युत सेवा पनि अवरुद्ध भएको छ । घटनाबारे थप वितवरण आउँन बाँकी छ ।
१० चैत २०७७, मंगलवार २१:१३ बजे प्रकाशित












