हामी सरकारमा सहभागी हुँदैनौं, काँग्रेसले पनि जानुहुन्नः राजेन्द्र महतो

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू सरकारमा नजाने बताएका छन् ।

गलबार धनढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएकोसमेत उनले बताए ।

यस्तो अवस्थामा कांग्रेस पनि सरकारमा सहभागी हुन नहनुे उनको भनाई छ । उनले तत्काल नेकपाको दुवै पक्षसँग सहकार्य नहुने समेत स्पष्ट पारेका छन् । महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए ।

सो अवसरमा बोल्दै नेता महतोले रेशम चौधरीलाई अब जेलमै राखिरहने तागत कसैसंग नभएको बताएका छन् । उनले रेशमलाई अब सरकारले रिहाई गर्नुपर्ने बताए ।

नेता महतोले रेशमलाई रिहाई नगरे अब ‘जेल भराउ’ आन्दोलन सुरु हुने चेतावनी दिएका छन् । ‘रेशम चौधरीलाई रिहाई नगरे हामी जेल भराउ आन्दोलन गछौं,’ उनले भने, ‘सरकारसंग आफूहरु सबैलाई जेलमा राख्ने क्षमता छैन ।’

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा एक नावालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरीको हत्या भएको थियो।

उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् । घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए।

निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए। अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्। जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ खुवाइएको थियो।


१८ फागुन २०७७, मंगलवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु