सुदूरपश्चिम स्पोर्टस अवार्ड दोस्रो संस्करण चैत्र ६ गते

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण मिति तोकिएको छ । अवार्ड आगामी चैत्र ६ गते हुने आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

गत वर्ष पौष १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवाड भएको भए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण निर्धारित समयमै गर्न नसकिएको आयोजकले जनाएको छ । अवाडको दोस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले बताए ।

‘आगामी चैत्र ५ गते स्पोर्ट अवार्डको लागि तयारी थालिसकेका छौं,’ उनले भने, ‘अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ ।’

२०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न नौं विधामा अवार्ड दिइने जनाइएको छ । गत वर्ष हामीले ६ विधामा अवार्ड दिएका थियौ,अध्यक्ष ओझाले भने,‘यस वर्ष ३ विधा थपेका छौं ।’

उनका अनुसार पिपल्स च्वाइस, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा नगद सहित अवार्ड प्रधान गरिने छ । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला,उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी,स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने छ ।


४ माघ २०७७, आइतवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु