प्रहरी हत्याकाण्डका मुख्य अभियुक्त राना कारागार चलान
कैलालीको धनगढी उपमहानगरपालिकावडाा नम्बर १२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य अभियुक्त सुक बहादुर भनिने अमर रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बिहीबार जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि भएको आदेशअनुसार रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए ।
रानालाई आइतबार पक्राउ गरि प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
घटना भएको अढाई महिनापछि प्रहरीले रानालाई पक्राउ गर्न सफल भएको थियो ।
नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको गत कार्तिक १ गते निर्मम हत्या भएको थियो । हत्याको आरोपमा यसअघि पक्राउ परेका ८ जना पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
१७ पुस २०७७, शुक्रवार ११:४० बजे प्रकाशित






























