धनगढीको फूलबारीमा सञ्चालमा ल्याइयो सामुदायिक कृषि तथा पशु हाटबजार

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । शनिबार आयोजित एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाटबजारको उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वडले हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउने बताए । उनले हाटबजार विक्री केन्द्र मात्रै नभई संकलन केन्द्रका रुपमा पनि रहने बताए । हाटबजारसंगै संघीय सरकारले बनाइरहेको कोल्ड स्टोर पनि हुने भएकाले यसले किसानहरुलाई निकै फाइदा पुग्ने बताए । उनले फूलबारी हाटबजारलाई प्रदेशकै नमुना हाट बजार बनाइने बताए ।

किसानको उत्पादनले बजार नपाएर बारीमै उत्पादन मर्ने अवस्थामा घर आगनमै हाटबजार सञ्चालन भएपछि त्यो चिन्ता टरेको उनको भनाई छ । हाटबजार सञ्चालनमा आएपछि किसानहरु उत्साहित भएका छन् । हाटबजार सञ्चालनमा आएसँगै वडा नम्बर १४, १८ र १९ का स्थानीयलाई सहजता हुने अपेक्षा गरिएको छ ।

बिगतका वर्षहरुमा तरकारी उत्पादन गरेपनि बजार नपाउँदा धनगढी ल्याउनु पर्ने बाध्यता रहेको थियो । अब त्यो बाध्यता अन्त्य भएको धनगढी उपमहानगरपालिका १९ का स्थानीय दिपेन्द्र पोखरेलले बताउँछन् । यहाँ संकलन भएका उत्पादन बजारसम्म पुर्याउन पनि सहज हुने उनको भनाई छ ।

किसानले उत्पादन गरेको तरकारीहरु सुपथ मूल्यमा बिक्री गर्न हाटबजारले सहयोग पुग्ने हाटबजारका अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । घर आँगनमै हाटबजार सञ्चालनमा आएपनि किसानहरु पनि तरकारी खेतीतर्फ लाग्न उत्साहित भएको उनको भनाई छ ।

किसानलाई मात्रै होइन हाटबजार सञ्चालनमा आएपछि उपभोक्तालाई पनि सहज भएको धनगढी उपमहानगरपालिका १८ का अर्का स्थानीय खेम आचार्यले बताए । उनले सानो क्षेत्रफलमा लगाएर पनि किसानले तरकारी बिक्री गर्न सक्ने बताए ।

सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाट बजारले २०६५ सालमा हाट बजार सञ्चालनको तयारी गरेको थियो । बिभिन्न समस्याका कारण अधुरो रहेको योजना १३ वर्ष पछि पुरा भएको हो । निर्वाचनको समयमा प्रत्येक वडाहरुमा कृषि तथा पशु हाटबजार सञ्चालन गर्न योजना बनाएको धनगढी उपमहानगरपालिकाले आफ्नो योजना पूरा गरेको जनाएको छ । हाटबजारका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा किसानहरुलाई सम्मान पनि गरिएको थियो ।

केरा आन्दोलनका अगुवा आचार्यसहित कृषकहरू सम्मानित
हाटबजार उद्घाटन कार्यक्रमको अवसरमा सुदूरपश्चिम प्रदेशमा भारतीय केरा आयात रोक्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका केरा कृषक लक्षीराम आचार्यसहित कृषकहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कैलालीको टीकापुरका किसान टेकेन्द्र धामी, कञ्चनपुर गुलरियाका सुरेन्द्र चौधरी तथा महेन्द्रनगरका किसान पूर्ण साउदलाई सम्मान गरियो । त्यस्तै, तरकारी कृषक राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई पनि सो अवसरमा सम्मान गरियो ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले किसानहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेका थिए ।


११ पुस २०७७, शनिवार २१:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु