बालविवाहको आरोपमा दुई जना पक्राउ
दैलेखमा बालविवाह गरेका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नारायण नगरपालिका–२ ढुंगेखानीकी १५ वर्षीया बालिका र डुंगेश्वर गाउँपालिका–५ डाँडापराजुलका १६ वर्षीय बालकलाई अभिभावकबाट भागेर बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
बिहिबार अपरान्ह सदरमुकामबाट भागेर डाँडापराजुल पुगेर विवाहको घोषणा गरी घरमै बसेको अवस्थामा डाँडापराजुल प्रहरी चौकीले घरबाटै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरु बिरुद्ध बालविवाह कसूरमा मुद्दा चलाइएको र बाँकी अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए। जील्लामा प्रहरीले एक महिना अन्तरमा चलाएको बालविवाह मुद्दाको संख्या पाँच पुगेको छ ।
२०६८ को जनगणना अनुसार नेपालमा सबैभन्दा बढी बालविवाह हुने जिल्लाहरुको संख्यामा दैलेख देशकै तेस्रो र कर्णाली प्रदेशमा पहिलो जिल्ला हो । मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई बाल विवाह कसूरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने कानूनी व्यवस्था छ ।
२१ कात्तिक २०७७, शुक्रवार १९:२९ बजे प्रकाशित































