स्यानिटाइजरमा विषाक्त रसायन, ५ उद्योगलाई कारबाही
औषधि व्यवस्था विभाको टोलीले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँचवटा कम्पनीलाई कारबाही गरेको छ । टोलीले काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई कारबाही गरेको हो ।
मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।
हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ुइन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनलु, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ुएड्भान्स ह्यान्ड स्यानिटाइजरु, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ुइन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेलु र सूर्यमुखी हर्बल प्रोडक्टको ुसूर्यमुखी ह्यान्ड स्यानिटाइजरु मा विषाक्त मिथानोल रहेको पाइएको हो । ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।
यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएको हो । यो कम्पनीलाई विभागले यसअघि नै बन्द गरिसकेको छ ।
विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । असोजभित्र सबै औषधि उद्योगहरुलाई मापदण्डमा ल्याइसक्ने उनले बताए ।
विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोल बाहेकका अन्य रसायन प्रयोग गर्न पाइन्न । केसीले भने,’हामीले इथानोल प्रयोग गर्न भनेका थियौं तर मिथानोल प्रयोग भएको पाइयो ।’
क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने विभागले जनाएको छ ।
कारबाहीकमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको विभागले बताएको छ ।
२७ भदौ २०७७, शनिवार १०:१६ बजे प्रकाशित































