जब वडा कार्यालयलेनै लगायो कोरोना संक्रमितको घरमा ताला
भक्तपुरको वडा कार्यालयले नै कोरोना संक्रमितको घरमा ताला लगाएको छ । स्थानीय ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनको घरमा ताला लगाइएको हो ।
संक्रमितलाई उपचारका लागि अस्पताल लगिसकेको छ भने उनको परिवार र डेरा गरि बस्ने गरि १० जना घरभित्र थुनिएका छन् ।
अन्य स्थानमा यसअघि कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमितको टोलका केही भाग मात्रै सङ्क्रमित क्षेत्र भनेर शिल गर्ने गरिएको थियो । सङ्क्रमितको घरमा डेरा गरि बस्ने मानिसहरू बाहिर निस्केको भन्दै घरबेटीको अनुमतिमा ताला लगाएको भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्ँयौमिखाले बताए ।
टोलका स्थानीयले सङ्क्रमितको घरबाट मानिसहरू घर बाहिर आवतजावत गरेको गुनासो गरेपछि सङ्क्रमण समुदायमा फैलिने डरले घरमा ताला लगाएको वडाध्यक्षले बताए । घरमा बस्ने मानिसहरूलाई केही समस्या भए स्थानीयले सहयोग गर्ने ह्ँयौमिखाले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सङ्क्रमितको पहिचान खुल्ने गरि कुनै पनि गतिविधि नगर्न भनि सकेको छ । वडा अध्यक्षको संलग्नतामा सङ्क्रमितको घरमा ताला लगाइएको छ । सङ्क्रमितको घरमा ताला लगाउनु गलत भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसबारे आफूलाई थाहा नभएको र बुझ्ने बताए ।
२० भदौ २०७७, शनिवार ०९:४० बजे प्रकाशित































