आजको मौसम : यी पाँच प्रदेशमा छ भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
धनगढी, साउन २ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । अहिले एक÷दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार दिनभर देशभरका अन्य केहि भेगमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज रातीसम्म प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले मनसुन पुनः सक्रिय भएर जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज बढी पानी पर्ने प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।
२ साउन २०७७, शुक्रवार ०२:५७ बजे प्रकाशित































