भारतमा हालसम्मकै धेरै संक्रमित भेटिए, एकैदिन बने दुई रेकर्ड
काठमाडौं, असार ३१ । भारतमा कोरोना भाइरस संक्रमण थामिएको छैन । रोकिनुको सट्टा संक्रमणदर झन बढ्दैछ । मंगलबार मात्रै भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित विरामी थपिएका छन् ।
२४ घण्टामा सर्वाधिक २९ हजार ९१७ जना थपिएका हुन् । एकैदिन यतिधेरै संक्रमित थपिएसंगै भारतमा कुल संक्रमित संख्या ९ लाख ३७ हजार ५६२ पुगेको छ । यीमध्ये हालसम्म २४ हजार ३१५ जनाको ज्यान गएको छ । मंगलबार मात्रै ५८७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ५ लाख ९३ हजार ८८ जनालाई निको भएको छ । त्यस्तै, मंगलबार एकैदिन २० हजार ९७६ जनालाई निको भएको छ । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो ।सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ७४१ जना नयाँ संक्रमित थपिएर २ लाख ६७ हजार ६६५ पुगेका छन् । मृतक २१३ थपिएर १० हजार ६९५ पुगेका छन् ।
दोस्रो स्थानको तमिलनाडुमा ४ हजार ५२६ थपिएर १ लाख ४७ हजार ३२४ पुगेका छन् । मृतक ६७ थपिएर २ हजार ९९ पुगेका छन् । दिल्लीमा १ हजार ६०६ जना थपिएर संक्रमित १ लाख १५ हजार ३४६ पुगेका छन् । मृतक ३५ थपिएर ३ हजार ४४६ पुगेका छन् ।
३१ असार २०७७, बुधवार ०२:३७ बजे प्रकाशित













