सुदूरपश्चिम प्रदेश सभा: पेलानमा प्रतिपक्ष, नाराबाजीबीच बैठक सञ्चालन
- धनगढी, असार २४ । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्ष दलको नाराबाजीकाबीच पनि आजको बैठक सञ्चालन भएको छ।
रोष्टम घेराउ गर्दै प्रतिपक्ष दलहरूले नाराबाजी गरेपनि सभामुख थापाले आर्थिक वर्ष २०७७र७८ को अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक, सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको कारबाही शुरू गरे।
सभामुख अर्जुनबहादुर थापाले बैठकको कारबाही अगाडि बढाउनासाथ प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरू रोष्टम अगाडि पुगेर नाराबाजी गरेका थिए।
उनले आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरालाई दुवै विधेयकमाथि सभामा छलफल गर्न प्रस्ताव पेश गर्न अनुमति दिए। सभामुखको अनुमतिपछि मन्त्री बोहराले उक्त प्रस्ताव सभामा पेश गरे। मन्त्री बोहराले प्रस्ताव पेश गर्दा समेत विपक्षीको नारावाजी जारी नै थियो।
यसअघि २१ असारको बैठकमा प्रतिपक्ष दलको अवरोधकाबीच आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरिएको थियो।
प्रदेशमा कोरोनाको सङ्क्रमण भयावह बन्दै जाँदा पनि सरकारले यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकोमा मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले बताए।
उनले प्रतिपक्षले राखेका माग सुनुवाइ गर्ने पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरूको विरोध जारी रहने बताए। सरकार पेलेरै भएपनि बजेट पासगर्ने तयारीमा लागेको उनको आरोप छ ।
यसअघि पटक–पटक मागको सुनुवाइ गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्ष दलका सदस्यबीच वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। प्रदेश सभाको अर्को बैठक आज दिउँसो २ बजे बस्ने जनाइएको छ।
२४ असार २०७७, बुधवार ०५:२७ बजे प्रकाशित













