लकडाउन लम्बिने : छुट्टै संयन्त्र नचाहिने

काठमाडौं ,३०चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने सम्भावना व्यक्त गरेका छन् । सरकारले तय गरेको लकडाउनको समयावधि वैशाख ३ गते सकिँदैछ ।

प्रधानमन्त्री ओलीले भर्चुअल बैठकमार्फत् सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्दै कोरोना सङ्क्रमण रोकथाम गर्न भौतिक–सामाजिक दूरी नै हतियार भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे तीनबजेसम्म मुख्यमन्त्रीसँग भिडिओ कन्फ्रेन्स गरेका थिए ।

“प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।प्रधानमन्त्रीले संघीय सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको सन्देश दिएका थिए ।

“सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्त्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्नुभयो,” थापाको भनाइ थियो ।

कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म नेपालले स्वास्थ्यउपचार क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका थिए ।


३० चैत २०७६, आइतवार ००:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु