भारतको वोकहार्ड अस्पतालमा तीन डाक्टर र २६ नर्सलाई कोरोना संक्रमण
भारतको मुम्बईमा एकै अस्पतालका २६ नर्स र ३ जना चिकित्सकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएकाे छ ।
मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकमा कोरोना संक्रमण देखिएकाे भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
चिकित्सकहरु नै संक्रमित भएपछि अस्पताल केही समयका लागि बन्द गरिएको छ । उक्त अस्पतालका सम्पूर्ण आपतकालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन् ।
एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि यस विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन समेत दिइएको बताइएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ भने ४ हजार ६७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयको सोमबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार देशभर मृतकको संख्या १०९ पुगेको हो । २ सय ९१ जना उपचारपछि घर फर्किएका छन्।
विश्वभरकाे तथ्यांक हेर्ने हाे भने सोमबार बिहानसम्म ६९ हजार ४ सय २४ को मृत्यु भइसकेको छ भने १२ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
(यसअघि प्राप्त सूचना गलत भएकोमा सच्याइएको छ । यसले पाठकसामू पर्न गएको असुविधामा हामी क्षमापार्थी छौँ)
२४ चैत २०७६, सोमवार ०९:५९ बजे प्रकाशित