लकडाउनका बेलामा घुम्नका लागि नक्कली डाक्टर बने यी व्यक्ति
कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतमा २१ दिनको लकडाउन (बन्दाबन्दी) घोषणा गरिएको छ । मानिसहरूलाई घरबाट निस्कन मनाही छ । अत्यन्तै जरूरी काम नपरी घरबाट निस्कनेलाई प्रहरीले कारवाही गरिरहेको छ ।
तर केही मानिसलाई घरबाहिर घुम्ने सोख भएकाले अनेकथरी बहाना बनाएर निस्किरहेका छन् । नोयडामा एक व्यक्तिले डाक्टर बनेमा एक ठाउँबाट अर्को ठाउँ जान पाइन्छ भनी खुराफाती दिमाग लगाए । अनि उनले मास्क लगाए, डाक्टरको सेतो गाउन लगाए अनि नोयडामा यताउता घुम्न थाले ।
सडकमा टहलिँदै गर्दा ती व्यक्तिको जम्काभेट प्रहरीसँग भयो । प्रहरीले बाहिर किन निस्केको भनी सोध्दा उसले आफू डाक्टर भएको बतायो । तर प्रहरीलाई उसमाथि शंका लाग्यो र अलि कडा सोधपुछ गर्दा ऊ आत्तियो ।
प्रहरीले कडीकडाउ गरेपछि उसले साँचो कुरा बक्यो । अहिले उक्त युवकलाई प्रहरीले हिरासतमा लिएको छ र उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।
१९ चैत २०७६, बुधवार ०९:३६ बजे प्रकाशित