प्रधानमन्त्रीले भने, ‘खरिद किन विवादमा ?’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ? ’

आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए। कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्काे आलोचना हुन थालेको छ। त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।

उनका अनुसार प्रधानमन्त्रीले यो विषयमा झन्डै २० मिनेट बोलेका थिए। लकडाउन एक साता लम्ब्याउने र राहत प्याकेज घोषणा गर्ने दुई एजेन्डा मात्र रहेको मन्त्रिपरिषद् बैठक त्यसपछि केही लम्बिएको ती मन्त्रीले सुनाए।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षण र सुरक्षाका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई)लाई खरिदको जिम्मा दिएको थियो। अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा तेब्बरमा खरिद गरेको भन्दै चिकित्सक र कतिपय आपूर्तिकर्ताले प्रश्न उठाएपछि अनियमतिताको आशंका गरिएको छ।


१८ चैत २०७६, मंगलवार ००:३९ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु