कैलारी गाउँपालिकाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने
धनगढी: कैलारी गाउँपालिकाको कार्यालयले गाउँपालिकामा रहेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ ।
लक डाउनका कारण काम गर्न नपाउँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने परिवारलाई समस्या भएपछि गाउँपालिकाले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो । एकातिर कोरोना भाइरसको त्रास र अर्कोतिर काम गर्न नपाएका कारण विपन्न परिवारलाई दुई छाक टार्न समस्या भएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए ।
‘थप समस्या भोग्न नपरोस र केहि दिनलाई राहत होस भनेर गाउँपालिकाको कार्यालयले खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो’, उनले भने । ‘हामी सकेसम्म चाँडै उनीहरुलाई खाद्यान्न वितरण गर्छौ ।’
खाद्य सामग्री सहयोगका लागि गाउँपालिकाको कार्यालयले प्रत्येक वडाबाट विपन्न परिवारको तथ्याङ्क संकलन गरिदैंछ । विभिन्न ठाउँमा पुगेर मजदुरी गरी गुजारा गर्ने परिवारलाई सहयोग गरिने प्रवक्ता चौधरीले बताए । उनले केही वडाबाटमात्रै तथ्याङ्क आउन बाँकी रहेको उल्लेख गरे ।
१६ चैत २०७६, आइतवार १३:०७ बजे प्रकाशित