कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले शुक्रबार ७ जनाको उद्धार
![image image](https://www.morningbelldaily.com/wp-content/uploads/2020/03/1585302348Beldandi_baat_uddar.jpg)
कञ्चनपुर:कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले शुक्रबार ७ जनाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बल, बडर आउट पोष्ट बेलडाँडीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीका अनुसार, यही चैत्र ०९ गतेका दिन छोरीज्वाँइसंगै भारतबाट फर्किई बेलडाँडीमा बसिरहेका डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ कि खिमादेवी दमाइ र उनकी छोरी मिना दमाइ सहितका ७ जनालाई गाउँपालिकाले उद्धार गरी गन्तव्य तर्फ पठाएको छ ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित आफ्ना छोरीज्वाँइकै घरमा बसिरहेका उनीहरुलाई खिमादेवीका सम्धीसम्धिनीले कोरोना भाइरसको संक्रमण हुन सक्ने डरले आफ्नै घर जान भनेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुलाई गन्यापधुरा गाउँपालिकाका प्रमुख नवल बहादुर मल्ल संग समन्वय गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेतको सहयोगमा घरसम्म पुर्याउने प्रबन्ध मिलाइएको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो गाउँ पुगिसकेपछि केही दिन घरभित्रै बस्न सुझाव समेत दिइएको बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख माधवानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार, बेलडाँडी गाउँपालिका भित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा १९ बेडको क्वारेन्टाइन स्थल तयार गरिएको छ । त्यस्तै, बेलडाँडी गाउँपालिका ३ नम्बर वडा कार्यालयले पनि सुरक्षित आवास गृह तयारी अवस्थामा राखेको वडा सदस्य पुष्प कमल पण्डितले जानकारी दिनुभएको छ ।
१४ चैत २०७६, शुक्रवार १०:४५ बजे प्रकाशित