सुदूरपश्‍चिममा कोभिड-१९ आशंकाका १३ जनाको नमूना परीक्षणका लागि गाडीबाट काठमाडौं पठाइयो

कैलाली: कोरोना भाइरस संक्रमणको आशंका गरिएका सुदूरपश्‍चिमका १३ जनाको नमूना संकलन परीक्षणको लागि गाडीबाट काठमाडौं पठाइएको छ।

कोभिड-१९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएका कारण सुदूरपश्चिम प्रदेशमा केही दिनदेखि नमूना परीक्षणका लागि पठाइएको थिएन।

धनगढीको तारानगरमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा बिभिन्न जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब सडकमार्गबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित ८, महाकाली अस्पतालबाट पठाईएको २, बैतडीको २ र डोटी जिल्ला अस्पतालबाट पठाएको एक नमूना परीक्षणका लागि काठमाण्डौं प्रयोगशालामा पठाइएको हो।

सुदूरपश्चिममा कोभिड-१९ को परीक्षण गर्न ल्याव नहुँदा समस्या भएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले हिजो नियमित पत्रकार सम्मेलनमा सात वटै प्रदेशमा नमूना परीक्षणको व्यवस्था गर्ने गरी गृहकार्य थालिएको जानकारी गराएका छन्।

सुदूरपश्‍चिमबाट यसअघि पठाईएका १४ वटा नमूना परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रयोगशालाले जनाएको छ।


१३ चैत २०७६, बिहीवार ०४:११ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु