चितवनमा कोरोनाको संक्रमणका बिरामीलाई राख्न ७० शैयाको अस्पताल बनाइने
चितवन : बिश्वभर कोरोना भाईरस फैलिरहेका बेला चितवनमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैयाको अलग्गै अस्पताल बनाइने भएको छ । ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
अस्पताल बनाउनका लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।
जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेज र निजी अस्पताल समन्वय समिति, आईसीयूको चितवन मेडिकल कलेज, जनशक्तिको व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।
४ चैत २०७६, मंगलवार ०९:५३ बजे प्रकाशित