आज तराईमा होली मनाइँदै

धनगढि : रंगहरूको पर्व मानिने होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ।पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।
तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ ।होली पर्वको अवसरमा तराईका जिल्लाहरूमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र आपसी सद्भावको सन्देश लिई आउने होली विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
विष्णुका भक्त प्रह्लादलाई मार्न बहिनी होलिकाले प्रल्हादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेकी र प्रल्हाद भने जीवितै रहेको पुराणको कथा प्रसंग होलीसँग जोडिएको छ।
होली पर्वमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय स्वास्थ्यलाई हानिकारक हुने विभिन्न कलरहरूको प्रयोग गरिने प्रचलन बढेसँगै सचेत भई रंग खेल्न चिकित्सकको सुझाव छ। कोरोना भाइरस संक्रमणको सन्त्राससँगै यस वर्षको होली भने उल्लासमय देखिएको छैन।
२७ फागुन २०७६, मंगलवार ०१:४० बजे प्रकाशित