छाउ गोठ भत्काउने अभियान प्रभावकारी भएन: महिलाहरु झन असुरक्षित
सरकारले महिला हिंसा कम गर्ने उद्देश्यले छाउगोठ भत्काउने अभियान चलाए पनि यसबाट कतिपय महिला भने थप जोखिममा परेका छन् ।
छाउगोठ भत्काएपछि परिवारले महिनावारीका बेला खुल्ला आकाशमा सुत्नुपर्ने भएपछि कपितय महिला थप असुरक्षित बनेका हुन् ।
गृह मन्त्रालयले गत पुस ८ गते सुदूरपश्चिम र कर्णाली प्रदेशमा विद्यमान छाउप्रथा हटाउन सम्बन्धित जिल्ला प्रशासनमा निर्र्देेशनसहित पत्राचार गरेको थियो ।मन्त्रालयको निर्देशनपछि धेरै जिल्लाहरुमा छाउगोठ भत्काउने काम भइसकेका छन् ।
जसका कारण कुनै ठाउँमा नयाँ सुविधासम्पन्न छाउगोठ निर्माण हुन थालेका छन् तर कतिपयले भने महिनावारीका बेला बाहिर खुल्ला ठाउँमै सुत्न लगाउने गरेकाले महिला झन् असुरक्षित बनेका हुन् ।
समन्वय नै नगरी छाउगोठहरु भत्काउँदा कतिपय महिलाहरु भने छाउगोठमा भन्दा पनि बढी जोखिम मोल्नुपर्ने अवस्थामा पुगेका हुन् ।
स्थानीयस्तरमा पर्याप्त चेतना फैलाउन नसक्दा कुनै कुनै परिवारका महिलाहरु घरभित्र सुत्न नपाएपछि आँगन तथा खेतमा सुत्न बाध्य भएका छन् ।
पूर्व तयारी विनै जबरजस्ती छाउगोठ भत्काएकाले कुनै मानवीय क्षति भए त्यसको जिम्मा पनि सरकारले नै लिनुपर्ने कञ्चनपुरका पीडित महिलाको भनाइ छ ।
उसो त यो अभियानले कपितय ठाउँमा भने सकारात्मक प्रभाव पनि परेको छ ।कोही घरभित्रै सुत्न थालेका छन् भने धेरैले नयाँ व्यवस्थित छाउगोठ बनाएपछि सहज र सुरक्षित भएको प्रतिक्रिया दिन थालेका छन् ।
छाउप्रथा एकैपटक नहट्ने भन्दै आफूहरुले व्यवस्थित छाउगोठ बनाउनका लागि पहल गर्दै आएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीयको भनाइ छ ।
२४ फागुन २०७६, शनिवार ०८:१३ बजे प्रकाशित