कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनगढी : धनगढीमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवसायी संघ कैलाली, वैंकर्स क्लब धनगढी हेल्प प्रा.लि. र बैतडी समाजको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
धनगढीको रातोपुलमा रहेको डिलाईट क्याफेमा आयोजना गरिएको कार्यक्रममा कोरोना भाईरसबाट बच्नका लागि सजकता अपनाउनुपर्नेमा जोड दिईएको छ । त्यसैगरी यसको संक्रमण फैलन नदिनका लागि सरकारलाई संवेदनशीलता अपनाउन पनि सरोकारवालाले आग्रह गरेका छन् ।
कोरोनाको संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग भएकाले संवेदनशीलताबाट जोगिनका लागि सवैलाई कार्यक्रम मार्फत जानकारी समेत दिईएको छ ।
यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरुसंग भेटघाट हुँदा हात नमिलाउन, दुई मिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले कुहिनासम्म हात सफा गर्न, केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न समेत अनुरोध गरिएको छ ।
कोरोना भाईरसको सम्वेदनशिलताका लागि धनगढी उप–महानगरपालिका क्षेत्रभित्र कुनै पनि किसिमका बार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडाभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न धनगढी उपमहानगरपालिकाले यसअघि नै आग्रह गरिसकेको छ ।
होटल व्यवसायी संघका महासचिव आभेष चन्दले सञ्चालन गरेको कार्यक्रममा साईकल अभियन्ता सुमित कार्कीलाई सम्मान समेत गरिएको थियो । साईकल अभियन्ता कार्कीलाई वैंकर्स क्लबका अध्यक्ष धर्मसिंह विष्ट र समाजसेवी पृथ्वी चन्दले मायाको चिनो सहित नगद ५/५ हजार सहयोग समेत गर्नुभयो ।
२३ फागुन २०७६, शुक्रवार ०९:०१ बजे प्रकाशित