१० जनामा एक पत्रकार महिलामाथि यौन दुर्व्यवहार
काठमाडौं : हरेक १० जना पत्रकार महिला मध्ये एक जनाले आफ्नो कार्यकालमा यौन दुर्व्यवहार भोग्नु परेको एक अध्ययनले देखाएको छ ।
क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) नेपालका ४५ जिल्लाका ४ सय ७३ जना पत्रकार महिलामा गरेको अध्ययन अनुसार १० मध्ये एक जना (१०.१)ले आफ्नो कार्यकालमा यौन दुव्र्यवहार भोग्नु परेको छ ।
“समाचार कक्षमा महिलाˮ विषयमा गरेको अध्ययन बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
यस्तै अध्ययनमा सहभागी ४ सय ६८ मध्ये एक तिहाई (१३.५)ले महिला भएकै कारण भेदभाव भोग्नु परेको उल्लेख छ ।
४ सय ६७ सहभागी मध्ये ३७.७ प्रतिशतले आफ्नो सञ्चार गृहमा लैंगिक नीति रहेको बताएका छन् भने ३८.३ प्रतिशतले नरहेको बताएका छन् । २४ प्रतिशतलाई लैंगिक नीति बारे नै थाहा छैन ।
डब्लूडब्लूजेका अध्यक्ष अमिका राजथलाका अनुसार अध्ययनमा ५ सय पत्रकार महिला संलग्न भएका थिए । अध्ययन अनुसार सबैभन्दा बढी ६०.७ प्रतिशत पत्रकार महिला रेडियोमा कार्यरत छन् भने २७.६ प्रतिशत छापा, २३.३ प्रतिशत अनलाईन र १८.२ प्रतिशत टेलिभिजनमा कार्यरत छन् ।
अध्ययन पुस्तकको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले संयुक्त रुपमा अध्ययन सार्वजनिक गरेका थिए ।सार्वजनिक अनुसन्धानमाथि पत्रकारहरु श्री आचार्य, रमेश विष्ट,गीता लामा, हेमलता राई, यशोदा अधिकारीलगायतले टिप्पणी गरेका थिए । अनुसन्धानमा सहभागी योगेन्द्र नापितले पत्रकार महिलाको विट, तलव, जिम्मेवारीलाई आधार मानेर अनुसन्धान गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र बिष्टले महिला भएकै कारण पारिश्रमिकमा बिभेद भएको अबस्थामा चुप लागेर बस्न नहुने बताए ।अध्ययनको अगुवाई वरिष्ठ पत्रकार संगिता लामाले गरेको डब्लूडब्लूजेले जनाएको छ ।
२२ फागुन २०७६, बिहीवार ०७:५७ बजे प्रकाशित