विदेश पढ्न जानेलाई अनुमति रोकिने
काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (एनओसी) वितरणमा बन्द भएको छ ।
मन्त्रिपरिषदको आइतबारको निर्णयले कोरोनाको उच्च जोखिम रहेको मुलुकमा आवत जावत रोक्ने विषयमा अध्ययन गर्न समिति गठन गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषदले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिको सोमबारको बैठकले चीन, जापान, दक्षिण कोरिया, उत्तरकोरियालगायत ६८ मुलुकमा आवतजावत बन्द गर्ने विषयमा निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिब रामशरण सापकोटाले जानकारी दिए ।
कोरोनाको त्रास विश्वभर फैलिएपछि त्यता जाने विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर एनओसी रोकिएको मन्त्रालयले जनाएको छ ।
कोभिड भाइरस विश्वका ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ । विशेषगरी नेपाली विद्यार्थी धेरै जाने अष्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, कोरिया, चिन लगायतका मुलुकमा यस भाइरसको संक्रमण चर्को रुपमा फैलिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट
२० फागुन २०७६, मंगलवार ०२:१५ बजे प्रकाशित