गौरिकाले ६२ लाख पाउने

काठमाडौं ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कीर्तिमानी ४ स्वर्ण जित्न सफल पौडीवाज गौरिका सिंहले सर्वाधिक धेरै पुरस्कार पाउने भएकी छिन् ।
गत मंसिरमा सम्पन्न सागमा ४ स्वर्णसहित कुल ९ पदक जितेकी गौरिकाले सरकारबाट सर्वाधिक धेरै ६२ लाख नगद पुरस्कार पाउने भएकी हुन् ।सागका पदक विजेता खेलाडीलाई पुरस्कार दिन युवा तथा खेलकुद मन्त्रालयले गरेको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति गरेसँगै गौरिकाले सर्वाधिक धेरै पुरस्कार थाप्ने भएकी हुन् ।गौरिकाले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।
गौरिकाले २ सय मिटर फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।गत मंसिर अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले सागका पदकधारीलाई नगद पुरस्कारको सरप्राइज प्याकेज घोषणा गरेका थिए ।प्रधानमन्त्रीले सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने घोषणा गरेका थिए । त्यस्तै एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख दिने घोषणा गरेका थिए ।
यस्तै मन्त्रीपरिषद्ले पारित गरेको पुरस्कार राशी सम्बन्धि संशोधित कार्यविधिले टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।प्रधानमन्त्रीले घोषणा गरे अनुसार ४ स्वर्ण बराबर गौरिकाले ४४ लाख पाउने छिन् ।
त्यस्तै दुई व्यक्तिगत रजत बराबर १२ लाख र टिम इभेन्ट्समा जितेको ३ कास्य बराबर ६ लाख सहित गौरिकाले ६२ लाख पाउने भएकी हुन् ।
१८ फागुन २०७६, आइतवार ०९:२८ बजे प्रकाशित