एक सातामा सुनको मूल्य ११ सय घट्यो
काठमाण्डौँ : निरन्तर उकालो लागेको सुनको मूल्यमा यो साता सामान्य गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यो साता सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ ।
मूल्य बढेर प्रतितोला ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको मूल्य अहिले सामान्य घटेको छ । चीनमा फैलिएको कारोना भाइरस प्रभावले सुनको मूल्यमा एक्कासी वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्यमा सामान्य कमी आएको छ । गत आइतबार प्रतितोला ७८ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुुनको मूल्य एकै दिन तोलामा पाँच सय बढेर प्रतितोला ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार सामान्य घटेर ८० हजार रुपैयाँमा झरेको थियो । बुधबार प्रतितोला ७९ हजार पाँच सय रुपैयाँमा कारोबार सुनको मूल्य बिहिबार सामान्य बढेर ७९ हजार सात सय रुपैयाँ पुगेको थियो ।
यस्तै साताको अन्तिम दिन सुनको मूल्य घटेर ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।कारोना भाइरसको संक्रमण फैलिँदै गएपछि लगानीको सुरक्षित क्षेत्र सुन देखिएकाले लगानीकर्ता सुनमा लगानी गर्दै गएकाले पनि मूल्य बढ्न गएको उनको भनाई छ ।
मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएपनि नेपाली बजारमा भने सुनको कारोबार ठप्प जस्तै भएको छ ।
लगनको सिजन भएपनि मूल्य बढेकाले कारोबार नै कम भएको व्यवसायीको भनाई छ ।
अघिल्ला वर्ष यो सिजनमा दैनिक ३० देखि ४० किलो सुनको बिक्री हुने गरेकोमा अहिले दैनिक १० देखि १५ किलोमा सीमित भएको व्यवसायीको भनाई छ ।
१८ फागुन २०७६, आइतवार ०३:५२ बजे प्रकाशित