वाग्लेको “पुनर्वास” उपन्यासको बिमोचन

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ४ का युवा साहित्यकार सर्वज्ञ वाग्लेले रचना गरेको पाँचौ कृति “पुनर्वास” उपन्यासको शनिवार प्रज्ञा भवनमा बिमोचन गरिएको छ ।

“पुनर्वास” उपन्यासको बिमोचन समारोहमा राजनितीले भन्दा साहित्यले मानिसलाई बढी संवेदनशिल बनाउने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

संघीय राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित साहित्यकार सर्वज्ञ वाग्लेको उपन्यास कृति पुनर्वासको विमोचन कार्यक्रममा काँग्रेस वरिष्ठ नेता पौडेलले मानिसभित्रको संबेदनालाई जागृत गराउने काम साहित्यले गर्ने हुँदा यो राजनिती भन्दा फरक र जिवन्त विषय भएको बताए ।

आजको कार्यक्रममा राजनीति विषयभन्दा साहित्यका कुरामा बढी समय खर्चिएका पौडेलले साहित्यकारहरुका परिश्रम र मिहिनेत सबैका लागि प्रेरणादायी भएको समेत बताए ।

देशमा अहिले भइरहेका हरेक खालका गतिविधीलाई साहित्यमा उतारेर साहित्यकारहरुले सबैलाई सचेत गराउँदै आएकाले गलत काम गर्नेहरुले साहित्यकारहरुबाट धेरै कुरा सिक्नु पर्ने बताए ।

देशमा भएका हरेकखालका राजनितीक परिवर्तनले आर्दशको सट्टा विकृतिहरु आएका तर्फ सचेत गराउँदै नेता पौडेलले ती विकृतिहरुलाई हटाउन पनि साहित्य र साहित्यकारले अहम भूमिका खेल्ले गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले कृति माथी समीक्षा गर्दै पुनर्वास उपन्यासले नेपाल र भारतका सीमाक्षेत्रमा रहेका आम नागरिकले भोगेका अनुभवहरुलाई जस्ताको तस्तै उतारेको बताए ।

उनले अहिले आइरहेको दुई देशवीचका सीमा समस्या, भारतिय सुरक्षाकर्मीले नेपाली माथी गरेका थिचोमिचो लगायतका विषयमा पनि कृतिले चित्रण गरेकोले यो एउटा संग्रहणिय पुस्तक भएको बताए ।

वरिष्ठ साहित्यकार कृष्ण धराबासीले कृतिमाथि टिप्पणी गर्दै यसमा भएका कमीकमजोरी औंल्याए । यद्यपी उपन्यासमा प्रयोग गरिएका प्रकृतिसँग, मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरुले पुनर्वासलाई निकै रोचक बनाएकाले यो उत्कृष्ठ कृति बनाउन साहित्यकार सफल भएका धराबासीले बताए ।

यस्तै राष्ट्रिय सभाकी सांसद इन्दु कँडरियाले पनि प्रस्तुत कृति काल्पनिक नभएर यथार्थतामा आधारित भएकाले यसले कञ्चनपुरको पुनर्वासको झल्को उतारेको र त्यहाँका नागरिकलाई न्याय दिलाएको बताइन् ।

त्यहाँको १९६ नं पिल्लर हराएको र अन्य पिल्लरहरु पनि कोहि सारिएका त कोहि भाँचिएकाले कन्चनपुरमा सीमा समस्या भयावह रहेको प्रति चिन्ता व्यक्त गर्दै कृतिले यस विषयलाई उठाएको तर राज्यले बेवास्ता गरेको भन्दै राज्यका आँखा सीमातिर पनि पुग्न सक्नु पर्ने कँडरियाले बताइन् ।

कृतिकार वाग्लेले आफूले उपन्यास लेख्ने क्रममा कञ्चनपुरको सीमा समस्याका बारेमा स्थलगत भ्रमण गरेर त्यहाँको समस्या बुझेपछि कृति तयार पारेको बताए ।

उनले त्यहाँको भौगोलिक परिवेश र कृतिभित्र रहेका विषयका बारेमा संक्षिप्त उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भएर साहित्यलेखन गर्ने प्रतिबद्धता जनाए ।

उनले वाचन गरेको बा शिर्षकको कविताले उपस्थित सबैलाई भावुक बनाएको थियो ।

कार्यक्रम पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । शिखा बुक्सले उपन्यास पुनर्वासलाई बजारमा ल्याएको छ ।


१८ माघ २०७६, शनिवार २२:३२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु