पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा

धनगढी : विभागीय टिम एपीएफ क्लब धनगढीमा जारी सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कैलालीको धनगढी रंगशालामा आज भएको क्वाटरफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४/३ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे । पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ ।
उपविजेताले १० लाख १ रुपैया पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिने छ ।
१५ फागुन २०७६, बिहीवार १२:२१ बजे प्रकाशित