अब आरक्षण मेरा लागि
पशुपति कुँवर
तिमी चन्द्रमामा पुग्ने सपना देख्छौ
मेरो त भुईँमा टेक्ने शक्ति छैन
तिमी समानताका कुरा गर्छौ
मेरो असमानतालाई बुझ्ने शक्ति छैन ।
तिमी महिनावारी हुँदा आरामको कुरा गर्छौ
मलाई सुत्केरी हुँदा आराम के हो थाहा छैन
तिमी मालिस र पोषणको कुरा गर्छौ
मैले त खानाको लागि भात पाएको छैन ।
अनि तिमी र म कसरी बराबरी ?
तिमी राजनीतिका कुरा गर्छौ
मैले त आफू खुसीले भोट हाल्ने अधिकार पाएकी छैन
तिमी समावेशीका कुरा गर्छौ
मैले बैठकमा गएको दिन कुटाइ खानु पर्छ
तिमी आफ्नो शरीरमाथिको अधिकारको कुरा गर्छौ
म हरेक रात श्रीमान्बाटै बलात्कृत हुन्छु
तिमी आफ्नो रहरले सन्तान जन्माउँछौ
मेरो बाध्यता छोरा जन्माउनको लागि छोरी धेरै जन्माउँछु ।
तिमी सहरमा बस्छौ, म गाउँमा
तिमी गाडी चढ्छौ, मेरो शरीरमाथि भारी चढ्छ
तिमी चार्ड पर्व मनाउनु पाउनु अधिकार हो भन्छौ
मलाई चार्ड पर्व नआए हुनेथ्यो जस्तो लाग्छ
किनकि घरबाट भाग्नु पर्ने बाध्यता आउँछ ।
तिमी छाउ बार्नु आराम हो भन्छौ
म छाउ नभइदिए हुन्थ्यो कि जस्तो लाग्छ
किन भने म हरेक रात गोठमा मरेर बाँच्छु
तिमी पोसिलो खान पाउँछौ मैले त
सुख्खा रोटीमा चित्त बुझाउनु पर्छ
त्यसैले तिम्रो रगत अर्कै हो, मेरो रगत अर्कै हो
तिमी महलमा रहरले छाउ बार्छौ
म गोठमा बाध्यताले छाउ बार्छु
तिमी मसँग दाँजिन मिल्दैन
तिमी महलमा बस्छौ, म गोठमा
अनि तिमी र म कसरी बराबरी ?
तिमी संसार जित्ने कुरा गर्छौ
मैले घरमै हारेर बसेकी छु
तिमी सम्पत्तिमाथिको अधिकारको कुरा गर्छौ
मेलै नागरिकता पाएकी छैन ।
तिमी अधिकारवादी नारी हौ,
तिमी सोमबारको व्रत रहरले बस्छौ
मेरो कुनै रहर छैन, बाध्यतामा कूसंस्कारलाई मान्छु
समानताको लागि नारीभित्रै असमानताका पहाडहरू छन्
त्यसैले आरक्षण तिम्रो लागि होइन, मेरो लागि हो
अनि तिमी र म कसरी बराबरी ?
तिमी चन्द्रमा छुने कुरा गर्छौ
मेरो भुईँमा टेक्ने शक्ति छैन ।
५ फागुन २०७६, सोमवार ०८:०६ बजे प्रकाशित