धनगढी विमानस्थल फेरी आशिंक बन्द
धनगढी : धानवमार्ग मर्मत सम्भार तथा स्तरवृद्धिका लागि भन्दै धनगढी विमानस्थल फेरी आशिंक रुपमा बन्द गरिएको छ । विमानस्थल आइतबारदेखि फागुन ११ सम्मका लागि विमानस्थल आशिंक रुपमा बन्द गरिएको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।
धावन मार्गमा मर्मत सम्भार र स्तरबृद्धिको काम बाँकी रहेकाले दिउँसो ३ बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द रहने उहाँले जानकारी दिनुभयो ।
यसअघि पनि एक महिनासम्म विमानस्थल पूर्ण र दुई महिनासम्म धनगढी विमानस्थल आशिंक रुपमा बन्द भएको थियो भने माघदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो ।
चिसोका कारण माघमा काम गर्न नसकिने अवस्था भएपछि सो समयमा विमानस्थल पूर्ण रुपमा सञ्चालन गरिएपनि अहिले आएर पुनः काम सुचारु गर्नुपर्ने भएकाले आशिंक बन्द गरिएको विमानस्थलका प्रमुख बुढथापाले बताउनुभयो ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ । झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ दुई÷दुई मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ ।
यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अब थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ । भर्खरै मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको २० वर्षे गुरुयोजना तयार गरेको छ । सो गुरुयोजनाअनुसार विमानस्थलका लागि थप दुई सय २७ विगाह जमिन अधिग्रहण गर्दै स्तरोन्नती गरिनेछ ।
२७ माघ २०७६, सोमवार १३:२८ बजे प्रकाशित