जंगली मेलमा कलमी अभियान
बाजुरा : कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा १ लाख जंगली मेलका बोटमा नास्पाती कलमी अभियान सञ्चालन गर्ने भएको छ । बाजुरा जिल्लाका सबै स्थानिय तहमा प्रशस्त मात्रामा जंगली मेल पाइन्छन् । आजसम्म मेलको प्रयोग सामान्य दाउराका रूपमा मात्रै प्रयोग भएको पाइन्छ । पहिलेपहिले मेलबाट खुँदो बनाउने प्रचलन रहेको थियो । तर, आजभोलि त्यो पनि लोप भइसकेको अवस्था छ ।
जंगली मेल र नास्पातीको प्रजाति एउटै भएकाले मेलमा नास्पाती कलमी गरी माथिको बोटलाई सजिलै नास्पाती बनाउन सकिन्छ । तल मेलको जरा नै हुने भएकाले यसमा रोग कम लाग्ने गोडमेल तथा मलखाद प्रयोग गर्नु नपर्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । लामो समयसम्म टिकाउ हुने र जंगलमा प्रसस्त मात्रामा आफै उम्रिने भएकाले गर्दा जंगलमा खेर गइरहेको मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रूपान्तरण गरिएको उनको भनाइ छ । यसबाट ताजा फल बिक्री, जाम तथा जेली बनाउनुका साथै बाँकी नास्पातीबाट बार्जु वाइन तयार गरी बिक्री वितरण गरी सजिलै आम्दानी गर्न सकिने जैशीले बताए ।
जिल्लामा प्रशस्त मात्रामा मेल पाइने भएकाले सबै स्थानीय तहका मेलका बोट भएका गाउँ तथा सामुदायिक वनमा पाँच वर्षमा कम्तीमा १ लाख खेर गइरहेका मेलका बोटलाई नास्पाती बनाउने लक्ष्यका साथ काम भइरहेको छ । यस वर्ष नौवटै स्थानीय तहका नौवटा ठाउँमा फागुन पहिलो साताबाट १० हजार मेलका बोटलाई नास्पाती बनाउनेगरी अभियान अघि बढाइएको ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतिले बताए ।
२६ माघ २०७६, आइतवार ०६:४१ बजे प्रकाशित