पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप :सुदुरपश्चिम–११ फाईनलमा

धनगढी : सुदुरपश्चिम–११ स्पोर्टस क्लब पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । झण्डै नौ लाख नगद धनराशीको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा जित हात पार्दै सुदुरपश्चिम–११ स्पोर्टस क्लब उपाधि नजिक पुगेको हो ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा पिएफए अत्तरियालाई ३–२ ले हराउँदै सुदुरपश्चिम–११ फाईनल पुगेको हो । उपाधिका लागि सुदुरपश्चिम–११ ले स्टार सिटी युवा क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिवार हुन लागेको फाईनल अन्तर्गत शनिवार दुवै टीम धनगढी रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । यसअघि विहीवार भएको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएको थियो ।

शुक्रवारको निकै प्रतिस्पर्धात्मक दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरियाले खेलको सुरुवातदेखि नै आक्रमक रुपमा मैदानमा उत्र्रिए । पहिलो हाफको १० औं मिनेटमा सुदुरपश्चिम–११ का कप्तान गजेन्द्र शाहीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । मैदानको वाया साईडवाट माधव भण्डारीले दिएको पासलाई सदुपयोग गर्दै कप्तान शाहीले गोल गरे । सुदुरपश्चिम–११ को अग्रता ६ मिनेट पनि टिकेन् ।

पिएफए अत्तरियाका लागि अजित गुरुङले गोल गर्दै खेल वरावरीमा पुराए । मैदानको दाया साईडवाट दिपेश श्रेष्ठले दिएको पासलाई अजितले गोलपोष्टको दिशा दिएका हुन् । खेल वरावरी भएपछि अझ आक्रमक रुपमा मेदान उत्र्रिएको पिएफएले पहिलो हाफको २७ औं मिनेटमा अग्रता कायम गर्यो । अनुप गुरुङले दिएको पासमा डिवक्सभित्र रहेका अजित गुरुङले व्यक्तीगत दोस्रो गोल गर्दै पिएफएलाई २–१ को स्थितिमा पुराए । 

दोस्रो हाफको सुरुवातदेखि गोल गर्ने प्रयासमा लागेका दुवै टीम लागेपछि दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै सुदुरपश्चिम–११ ले खेल वरावरीमा पुरायो । विदेशी खेलाडी रोमियोको हेड वललाई अर्का विदेशी खेलाडी ग्लोरीले गोल गरे । खेल दुई दुईको वरावरीमा भएको अवस्थामा दोस्रो हाफको ३२ औं मिनेटमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले गोल गर्दै फेरि खेलमा अग्रता बनायो ।

विदेशी खेलाडी ग्लोरीको पासमा फिलप तामाङले वललाई गोलपोष्टको दिशा दिए । त्यसपछि कुनै पनि टीमवाट गोल हुन नसकेपछि सुदुरपश्चिम–११ स्पोर्टस क्लब ३–२ ले विजयी हुँदै फाईनल पुगेको हो । माघ १७ गतेदखि सुरु भएको पाँचौं हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिवार सकिनेछ ।

धनगढी रंगशालामा दिउँसो दुई बजे फाईनल खेल भएसँगै प्रतियोगिता सकिनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।

फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।


२४ माघ २०७६, शुक्रवार १२:३६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु