कसरी अघि बढाउने महिलाको विश्वव्यापी हडताल ?

काठमाडौं : अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्यमा विश्वभरी नै मनाउन गईरहेको ‘महिलाको विश्वव्यापी हडताल’ बारे छलफल गरिएको छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरि ‘महिलाको विश्वव्यापी हडताल’ नेपालमा कसरी अघि बढाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले यो अभियान महिलाहरूले आफ्नो जीवनलाई जोखिममा राख्दै आफ्नो मानवअधिकार र मौलिक स्वतन्त्रताका लागि आवाज उठाएको र विरोध गरेको दिवसको सम्झना गर्ने अवसर भएको बताइन् ।

डा. अधिकारका अनुसार महिलाको विश्वव्यापी हडताल अभियानलाई नवउदारवादी अर्थ नितीको विरोध गर्ने महिलाहरूको समूहले अगाडि बढाएका छन् । यसलाई महिलावादी आन्दोलनलाई थप बलियो बनाउनको लागि एक अभियानको रुपमा पनि लिन सकिने छ ।

अभियानलाई संसारभर धेरै ठाउँमा धेरै संस्थाहरूले यसलाई संयोजन गरेर लगेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम (ए. पी. डब्लु. एल. डी.) ले संयोजन गरिरहेको छ । त्यसैगरी नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवं राष्ट्रिय आदिवासी– जनजाति महिला महासंघद्वारा गरिएको पनि डा. अधिकारीले प्रष्ट्याइन् ।

वर्तमान अवस्थामा महिला आन्दोलन परियोजनामुखी भएको कुरामा खेद जनाउँदै डा. अधिकारीले महिलाको मुद्दा भनेको राजनैतिक मुद्दा हो, त्यो मुद्दालाई संसार भरी नै उठाई महिला आन्दोलनलाई फेरि रणनैतिक बनाउनुपर्नेमा जोड दिइन् ।

छलफलमा यो कुरालाई उठान गर्न र महिलाको संघर्षको मुल्याङ्कन, महिलाको श्रमलाई पुनस्र्थापना गर्दै महिला आन्दोलनलाई अझै बलियो बनाउन ८ मार्च निकै उपयुक्त दिन हुन्छ भन्ने कुरा ठहर गरेर संसारभरी महिलाको विश्वव्यापि हडतालको परिकल्पना गरिएको बारे पनि समिक्षा गरियो ।

८ मार्च २०२० को अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ‘महिला रोकिए संसार रोकिन्छ ’भन्ने मूल नाराका साथ महिलाको विश्वव्यापी हडताल हुन गईरहेको डा. अधिकारीले हरूलाई जानकारी दिइन् ।

छलफलमा सहभागी सबै संघसंस्था र महिला अधिकारकर्मीहरूले यो अभियानलाई नेपालमा देशव्यापी रुपमा कसरी अगाडि लैजान सकिन्छ भन्ने बारे चासो राखेका थिए । सहभागीहरूले यो अभियानमा आफ्नो पूर्ण ऐक्यबद्धता रहने प्रतिवद्धतासमेत गरेका थिए ।


२२ माघ २०७६, बुधवार ०८:२० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु