बाजुराकाे हिमाली गाउँपालिकामा अझै डाक्टर पुग्न सकेनन्

बाजुरा : रुघाखोकी र ज्वरोका बिरामी बढेको बाजुराको हिमाली गाउँपालिका ६ बोल्डिक गाउँमा अझै पनि डाक्टर पुग्न सकेका छैनन् ।

नजिकै स्वास्थ्यचौकी पनि नभएको र अहिले गाउँपालिकाकै तर्फबाट दुई वटा स्वास्थ्य इकाइ विस्तार गरी औषधि वितरण भैरहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिनुभयो ।

स्रोत तथा साधन अभाव भएकाले केही दिनमा गाउँपालिकाले पनि धान्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । अहिलेसम्ममा गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा दुई सय १५ जनाले जाँच गराएका छन् ।

स्वास्थकर्मी कम भएकाले धनगढीबाट ल्याब टेक्निशियन र काठमाण्डौबाट डाक्टर लैजाने तयारी भएको गाउँपालिकाले जनाएको छ । रुघाखोकी मात्रै हो या अरु नै केही हो भनेर अहिलेसम्म यकिन हुन सकेको छैन ।

९० घर रहेको बोल्डिक गाउँमा दुई सयभन्दा धेरै बिरामी परेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । गाउँमा बिरामी बढेपछि स्थानीय एन्जल बोर्डिङ स्कुल पाँच दिनका लागि बिदा दिइएको छ भने विद्यार्थी बिरामी परेका कारण भवानी माध्यामिक विद्यालयको पढाइ पनि प्रभावित भएको शिक्षक देबु मल्लले जानकारी दिनुभयो । गएको बिहीबार सरस्वती पूजाको दिनदेखि एन्जल स्कुलका ३० विद्यार्थीबाट रुघाखोकी र ज्वरो सुरु भएको थियो ।


२२ माघ २०७६, बुधवार ०६:४४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु