हात्तीपाइले रोग निवारण चूनौतीपूर्ण
धनगढी : कैलालीमा हात्तीपाइले रोग निवारणमा चूनौती देखिएको छ । झण्डै सात वर्ष अघिबाट थालिएको आत्तिपाइले निवारण अभियानमा सुदूरपश्चिमका कैलाली बाहेक सबै जिल्ला सफल भएका छन् । यस बर्ष कैलाली जिल्लालाई पनि अभियान सफल पार्ने गरी फेरी आठौं पटक अभियान थाल्न लागिएको छ ।
जस अन्तरगत आगामी माघ २५ गतेबाट जिल्लाभर अभियान सञ्चालन हुने भएको छ । कैलालीमा ८ वर्ष अघि जिल्लाका झण्डै साढे आठ लाख नागरिकलाई सन् २०२० सम्ममा हात्तीपाइले निवारण अभियानको लक्षमा पु¥याइने उदेश्यसहित अभियान थालियो । तर त्यो लक्ष्य प्राप्तीमा भने चुनौती देखिएको छ । हालसम्म झण्डै दुई लाख नागरिक त्यो लक्ष्यको पहुँच बाहिर रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । हात्तीपाइले रोग निवारणका लागि यो अन्तिम वर्ष तोकिएको छ ।
यो रोग नियन्त्रणका लागी २०२० अन्तिम वर्ष तोकिएको थियो । सुदूरपश्चिमका आठ जिल्ला करिब निर्मुलसम्म पुगेपनि कैलाली जिल्लामा अँझै चुनौति देखिएको हो । सरकारले ८० प्रतिशत नागरिकसम्म औषधी पु¥याउने लक्ष्य लिएपनि कैलालीमा त्यो लक्ष्य पुग्न नसकेको हो । कैलालीमा बसाइसराइको दर उच्च रहेको र खुल्ला सीमानाका कारण यसको चूनौती बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका हात्तिपाइले सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए । यस बर्ष लक्षमा पुग्ने गरी अभियान थालिएको उनले बताए ।
जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा मात्रै झन्डै ५० हजार नागरिक यसको पहुँचमा पुग्न सकेको छैनन् । अब सरोकारवालको समन्वय र सहयोगमा लक्ष्य अनुरुप काम गर्न आगामी २५ गतेबाट अभियान थाल्ने धनगढी उप महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत जानकी पराजुली मिश्रले बताइन् । यसका लागि प्रचार प्रसारमा जोड दिएको उनले बताइन् । धनगढी उप महानगरपालिकामा हात्तीपाइलेको औषधी खुवाउन पाँच सय ६० जना स्वयम सेवक खटाइने उनले बताइन् । २० प्रतिशत नागरिक औषधी खुवाउन नपर्ने अवस्थाका पुग्ने हुँदा ८० प्रतिशत लक्ष्य राखेको उनले बताइन् ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सशीला मिश्र भट्टले यो अभियानलाई पूर्ण सफल पार्न सचेतनाका कार्यक्रम अघि सार्नुपर्ने बताएकी छिन् । त्यसका लागि नगरका तर्फबाट गर्नुैपर्ने सहयोगमा आफुहरु प्रतिकद्ध रहेको उनको भनाई छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि कैलाली बाहेकका जिल्लामा अभियान सफल हुँदा पनि यहाँ चुनौती देखिनु समस्याको बिषय बनेको प्रतिक्रिया दिएको छ । यसको नियान्त्रणका लागि संघ सरकारबाटै थालिएका अभियनमा सामाजिक विकास मन्त्रालयले पनि सहयोग गर्ने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीको भनाई छ । देशभर ५० जिल्लामा हात्तिपाइले रोग निवारण भइसकेको छ ।
१२ माघ २०७६, आइतवार ०२:५३ बजे प्रकाशित