आन्तरिक छुवाछूत अन्त्यका लागि सामूहिक टिका जमरा कार्यक्रम

असोज २६, धनगढी / राष्ट्रिय दलित नेटवर्कको आयोजनामा विजया दशमीको अवसरमा सामूहिक टिका जमरा तथा दलित अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार धनगढी उप–महानगरपालिका–१८ मा सम्पन्न भएको छ ।

दलित समुदाय बिचमा रहेको आन्तरिक विभेदको अन्त्य गरी एकता, सामाजिक सद्भाव, सहिष्णुता, भातृत्व र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेटवर्कले विगत १९ वर्ष देखि सामूहिक टिका जमरा कार्यक्रम ग्रामीण दलित बस्तीमा गर्दे आएको राष्ट्रिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विकले जानकारी गराए ।

कार्यक्रममा प्रदेशका सांसद टेक बहादुर रैकाले सुदूरपश्चिममा अहिले पनि दलित, दलित महिला तथा मुक्त हलियाको अवस्था दयनीय रहेको बताउँदै व्यवस्था परिवर्तन भएता पनि दलित, मुक्त हलिया तथा पछाडि पारिएका सिमान्तकृत समुदायको अवस्थामा सोचे अनुरुपको विकास र परिवर्तन हुन नसकेको बताए । उनले संवैधानिक रुपमा स्थापित दलित अधिकारलाई प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण दलित समुदाय बिच सशक्त र दिगो एकतामा जोड दिदै कार्यक्रममा सहभागी दलित समुदायलाई टिका जमरा लगाएका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं १८ की वडा सदस्य दुर्गा सिकेले दलित समुदाय भित्र पनि दलित महिलाको अवस्था दयनीय रहेको बताउँदै दलित समुदायको आर्थिक, सामाजिक शैक्षिक समग्र विकास र अधिकारका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने बताइन ।

मानवअधिकार संरक्षण मंचका प्रदेश सचिव राजेन्द्र रैका, राष्ट्रिय दलित नेटवर्कका हुकुम सार्की, दलित अगुवा चन्द्र परियार लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका भित्रका दलित महिला जनप्रतिनिधी,वडा सदस्यहरु,विभिन्न संघसस्थाका प्रतिनिधीहरु,शिक्षक,र दलित समुदायको सहभागीता रहेको थियो ।


२६ असोज २०७६, आइतवार १७:२३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु