बनगवाँको अग्निकाण्डमा सहयोग गर्ने धनगढीका मेयर हमाललाई भाजपा नेता गुप्ताले दिए धन्यवाद

धनगढी। भारतको उत्तर प्रदेशस्थित पलिया क्षेत्रको बनगवाँ मण्डीमा भएको भीषण आगलागीका बेला तत्काल उद्धार तथा राहत सहयोग उपलब्ध गराएको भन्दै भारतका भाजपा नेता रवि गुप्ताले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई धन्यवाद दिएका छन्।

दीपावलीका दिन भारत–नेपाल सीमा क्षेत्रमा पर्ने बनगवाँ मण्डीमा भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको थियो। आगलागीको आपत्कालीन अवस्थामा गुप्ताले आफ्ना मित्रसमेत रहेका मेयर हमाललाई फोन गरी सहयोग मागेका थिए।
त्यसपछि मेयर हमालले तत्काल नेपालबाट दमकल, जेसीबी र नगर प्रहरीको टोली घटनास्थलमा पठाएका थिए। आगलागीबाट करिब ४० देखि ५० वटा पसल जलेर नष्ट हुँदा ३० देखि ४० करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। नेपालबाट समयमै पुगेको सहयोगले अन्य सयौँ पसललाई आगलागीबाट जोगाउन तथा थप क्षति हुन नदिन सहयोग पुगेको थियो।

सोही सहयोगप्रति आभार व्यक्त गर्दै भाजपा नेता गुप्ता नेपालस्थित मेयर हमालको कार्यालयमै पुगेर धन्यवादपत्र प्रदान गरेका हुन्। उनले वरिष्ठ समाजसेवी तथा पूर्वसभासद् विवेक गुप्ता र ट्रान्सपोर्ट व्यवसायी देवराज गर्गसहित भारत–नेपाल सीमा क्षेत्रका व्यापारी तथा स्थानीयवासीको तर्फबाट मेयर हमाललाई धन्यवाद दिएका थिए।


३० कात्तिक २०८३, सोमवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु