रातो बाल्टीमा मासु र भात बोकेर धनगढीका सडकमा हिड्ने रितिका
धनगढी। जब साँझ पर्छ , सडकमा मानिसको चहलपहल कम हुँदै जान्छ त्यति नै बेला सुरु हुन्छ धनगढी बसपार्क पछाडिका दुई दाजु बैनीको बाल्टिमा मासु र भात पस्किने र बोकेर सडकमा निस्किने काम । यो प्रक्रिया रितिका गुरुङको दैनिकी बनेको छ साथमा उनका दाइ पनि छन् । उनीहरु सडकका कुकुरलाई खोज्दै खाना खुवाउने काममा विगत ६/७ बर्षदेखि निरन्तर खटेका छन् ।
हातमा रातो बाल्टि मासु र भात बोकेर उनीहरू सडकमा भोकाएका कुकुरको खोजीमा निस्कन्छन्। त्यो बाल्टिमा बोकेको खानाको बास्नाले कुकुरहरुलाई तान्छ । खाना खाने पर्खाइमा कोही सडक छेउमा भेटिन्छन्, कोही गल्लीमा। रितिका र उनका दाइ ति कुकुरलाई खाना खुवाउँछन्, माया गर्छन् र बिरामी वा घाइते भेटिए उपचारको व्यवस्था गर्छन्।
रितिका र उनका दाइ राति मात्र होइन, बिहान पनि सडकका कुकुरलाई खाना खुवाउन निस्कन्छन्। उनीहरूका लागि यो केवल खाना खुवाउने काम होइन, आवाजविहीन प्राणीप्रतिको जिम्मेवारी र प्रेम हो।
सन् २०७७ मा कोरोना महामारीका कारण देशभर लकडाउन भयो। मानिसहरू घरभित्रै सीमित भए। सडक सुनसान बने। तर, सडकमा रहेका कुकुर र अन्य जनावरहरु भोक छट्पटाउन थालेका थिए । त्यही समयमा रितिका सडकका छाडा चौपायाका लागि खाना जुटाउन र उपचार गर्न सक्रिय भइन्।धनगढीका विभिन्न सडकमा पुगेर उनले भोकाएका कुकुरलाई खाना खुवाउने र बिरामी जनावरको उपचार गर्ने काम गरिन्।
मानिसहरू घरभित्र बसिरहेको समयमा सडकका जनावर भोकै नपरून् भन्ने उनको चाहना थियो। आफूले सकेको खाना जुटाएर उनी सडकका कुकुरलाई खुवाउँथिन ।
“जनावरहरू बोल्न सक्दैनन्। उनीहरूलाई भोक लागेको छ, दुखेको छ भनेर भन्न सक्दैनन् । त्यसैले उनीहरूको अवस्था बुझेर हामी आफैँले सहयोग गर्नुपर्छ,” रितिका भन्छिन्
जनावरप्रतिको यही लगावले उनलाई पशु स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने बाटोतर्फ डोर्यायो। सन् २०८१ मा उनले भेटेरिनरी (पशु चिकित्सा) विषयको अध्ययन सुरु गरिन्। जनावरको सेवा गर्ने आफ्नो चाहनालाई व्यावसायिक ज्ञानसँग जोड्ने उनको सपना थियो।
उनका लागि जनावर केवल पालिने प्राणी होइनन्। उनीहरू दुःख–सुखका साथी हुन्। यही विश्वासले उनलाई कठिन परिस्थितिमा पनि आफ्नो अभियानबाट पछि हट्न दिएको छैन। करिब ६/ ७ वर्षदेखि जनावरको उद्धार, उपचार र सेवामा सक्रिय रितिका अहिले पनि यही क्षेत्रमा लागिरहेकी छन्। जनावरप्रतिको मायाकै कारण विदेश जाने सोचसमेत बनाउन नसकेको उनी बताउँछिन्।
उनको सपना जनावरको सेवा गर्नु हो। त्यसका लागि आवश्यक ज्ञान हासिल गर्ने र घाइते तथा बेसहारा जनावरको उपचारमा योगदान दिने चाहना अझै उस्तै छ।
सडकमा छाडा छोडिएका कुकुरहरुप्रतिको उनको प्रेम यति गहिरो छ कि उनले ती कुकुरहरुको सेवामा खटिएर भोग्नु परेको कठिनाइहरु सामान्य बनेका छन् । उनलाई कुकुरहरुको खाना, औषधि तथा घाइते कुकुरहरुको उद्दारमा लाग्ने खर्च जुटाउन निक्कै गार्हो हुन्छ । उनको आफ्नो कमाइले भ्याउदैन, बुवा आमाले बिदेशबाट पठाएको पैसा समेत तिनै कुकुरहरुका लागि खर्चिन्छन् । कहिले काहीँ केहि मनकारी व्यक्तिहरुले सहयोग पनि गर्ने गर्छन् तर उनलाई त्यो सहयोग हात्तीको मुखमा जिरा बराबर पनि हुँदैन । कुकुरका लागि चामल , मासु औषधि लगायतमा महिनामा ५०/ ६० हजार रितिकाले जुटाउनु पर्छ तर आज सम्म त्यो रकम उनले आफ्नो पारिश्रमिक र बुवा आमाको कमाइबाट गरिरहेकी छन् । कहिले काहीँ रितिकालाई यो आर्थिक भारले गर्दा कुकुरहरुलाइ गर्ने सेवा छोडिदिउ जस्तो पनि लाग्छ तर उनको मनले मान्दैन र उनी फेरि त्यही दैनिकीमा तल्लिन भएर लागिरहन्छिन्।
कुनै समय रितिकाका सामु दुई चुनौतीहरु आइलागे कुकुरलाई खाना खुवाउने कि पढ्ने ? उनले पढाइ त्यगिन तर कुकुरलाई खाना खुवाउन छोडिन्न पहिले उनी नास्ट कलेजमा ११,१२ कमर्स विषय लिएर पढेर छोडिन । आहिले जनावरकै मायाले उनले फेरि भेटेरिनरी विषयको अध्ययन सुरु गरेकी छन्।
आफ्नो जीवनमा आएका कठिनाइका बाबजुद पनि उनी कुकुरको सेवामा निरन्तर सक्रिय छिन्। उनी सडकमा घाइते जुनसुकै जनावर देख्दा उद्धार गर्ने, उपचार गराउने र खानाको व्यवस्था मिलाउने काम गर्छिन् ।
उनका लागि यो केवल काम होइन बेजुवान जनावरको सेवा गर्ने अवसर ठान्छिन ।
रितिका अहिले आफूले सकेको सहयोग गर्दै अरूलाई पनि पशुप्रति दयालु हुन आग्रह गर्छिन्। उनका अनुसार जनावरलाई माया गर्न ठूलो धनसम्पत्ति आवश्यक पर्दैन। सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
रितिका जनावरलाई खाना खुवाउने र उपचार गर्ने काममा मात्र सीमित नभएर उनिहरुमाथी हुने हिंसाविरुद्ध पनि आवाज उठाउँछिन्। उनका अनुसार केही समय अगाडि एक व्यक्तिले कुखुरा खाएको भन्दै कुकुरलाई डोरीले बाँधेर अटोमा घिसारेका थिए। उक्त घटनापछि उनले सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा अघि बढाउन पहल गरिन्। त्यसपछि ती व्यक्ति सुध्रिएको उनको भनाइ छ।
त्यस्तै, शिवपुरी धाममा बिरामी भएको भन्दै पालिएको कुकुरको मुख बाँधेर बोरामा राखी फालिएको अर्को घटना पनि उनले सुनाइन्। उक्त घटनामा पनि सम्बन्धित व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन पहल गरेको र त्यसपछि व्यवहारमा सुधार आएको उनी बताउँछिन्।
जनावरमाथि हुने हिंसा रोक्न कानुनी प्रक्रिया र सामाजिक चेतना दुवै आवश्यक रहेको उनको बुझाइ छ। “जनावरलाई दुःख दिनु हुँदैन। उनीहरूलाई पनि बाँच्ने अधिकार छ। माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ,” उनी भन्छिन
तिहारमा पूज्ने मात्रै होइन, व्यवहारमा पनि माया गरौँ
रितिकाको आग्रह छ, जनावरलाई माया गर्ने कुरा केवल एक दिनको उत्सवमा सीमित हुनुहुँदैन। नेपाली हिन्दु धर्मावलम्बीहरुले तिहारमा कुकुरको पूजा गर्ने, माला लगाइदिने र मीठो खानेकुरा खुवाउने परम्परा छ। तर, त्यसपछि तिनै जनावरमाथि दुर्व्यवहार गर्ने प्रवृती छ ।
कुकुरलाई पूजा गर्ने दिन मात्रै होइन, वर्षभरि माया र सम्मान गर्नुपर्ने उनको भनाइ छ। “कुकुरलाई रोटी दिनुस्, माया गर्नुस्। तपाईंले पनि माया पाउनुहुन्छ। रोटी दिने अवस्था छैन भने कम्तीमा ढुंगाले नहानिदिनुस्,” उनी आग्रह गर्छिन्।
गाईतिहार र कुकुरतिहारमा एक दिन पूजा गरेर अरू दिन कुकुरलाई पिट्ने, तातोपानी खन्याउने वा दुःख दिने काम नगर्न पनि उनको अनुरोध छ।
रितिकाका लागि जनावरप्रतिको प्रेम कुनै विशेष दिनमा देखाउने कुरा होइन। यो हरेक दिन व्यवहारमा उतार्नुपर्ने मानवीय संवेदना हो। परिवारको आर्थिक समस्याले घरजग्गा गुम्यो। पढाइ बीचमै रोकियो। आफूले उद्धार गरेका जनावरलाई राख्ने ठाउँसमेत सहज रूपमा पाउन सकिनन्। तर, यी सबै कठिनाइका बीच पनि रितिकाको जनावरप्रतिको माया घटेको छैन। आज पनि उनी र उनका दाइ राति र बिहान सडकमा निस्कन्छन्। भोकाएका कुकुरलाई खाना खुवाउँछन्। बिरामी र घाइते जनावरको अवस्था बुझ्छन्।
केही समय अगाडि बझाङमा एकजना महिलाले सेती नदिको उर्लदो भेलमा कुकुरलाई जीउँदै बगाएको दृष्य हामी सबैले देख्यौ अझ त्यो भन्दा तल भोटेकोसीमा आएको बिनासकारी बाढीमा ज्यान गुमाएकी एक महिलाको कानको मुन्द्रा तानेको दृष्यले मनविय संवेदना हराउदै संवेदना शुन्य युगमा मानव समाज पुगेको छ भन्न हामी सजिलै अनुमान गर्न सक्छौ तर त्यही भिडमा पनि अझै मानवता जिवित राख्ने रितिकाहरु यहि समाजमा चुपचाप काम गरिरहेका छन्।
१३ असोज २०८३, मंगलवार १७:५४ बजे प्रकाशित














