सिर्जनशील युवाका लागि पटकथा लेखन र फोटो कथाकारिता तालिमको अवसर

काठमाडौँ । मधेश, सुदूरपश्चिम र काठमाडौँ उपत्यकाका सिर्जनशील युवाका लागि पटकथा लेखन र फोटो कथाकारितासम्बन्धी तालिमका लागि आवेदन खुला गरिएको छ।
‘परिवर्तनका आवाजहरू’ परियोजनाअन्तर्गत पटकथा लेखन र फोटो कथाकारितासम्बन्धी दुईवटा कार्यशाला सञ्चालन हुन लागेको हो।

युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको परियोजनाअन्तर्गत हुने कार्यशालाको आयोजना शान्ता फाउन्डेशनले गर्दैछ। परियोजनाको नेतृत्व एफसीए नेपालले गरिरहेको छ भने दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स साझेदार संस्थाका रूपमा रहेको छ।

परियोजनाले विशेषगरी दलित, महिला तथा अन्य सीमान्तकृत समुदायका युवालाई सिर्जनात्मक तथा सांस्कृतिक क्षेत्रमा क्षमता विकास गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। पटकथा लेखन कार्यशाला १० दिन अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। कार्यशालामा सहभागीले व्यक्तिगत अनुभव, समुदायका कथा तथा सामाजिक विषयलाई प्रभावकारी पटकथा र डिजिटल सामग्रीमा रूपान्तरण गर्ने सीप सिक्नेछन्।

युट्युब, फेसबुक, इन्स्टाग्राम तथा पोडकास्टलगायत डिजिटल माध्यमका लागि सामग्री विकास, व्यक्तिगत पहिचान निर्माण, डिजिटल बजार प्रवद्र्धन, दर्शक विस्तार तथा सिर्जनात्मक कामबाट आयआर्जनका सम्भावनाबारे पनि प्रशिक्षण दिइनेछ। सहभागीले कार्यशालाको अन्त्यमा कम्तीमा एउटा मौलिक पटकथा तयार गर्नेछन्।

त्यस्तै, पाँच दिने फोटो कथाकारिता कार्यशाला प्रत्यक्ष सहभागितामा आधारित हुनेछ। कार्यशालामा फोटोग्राफीका आधारभूत सीपसँगै दृश्य कथावाचन, दृश्य संरचना, प्रकाश व्यवस्था, दृश्य संयोजन, फोटो फिचर, तस्बिरको विवरण तथा नैतिक दृश्य कथावाचनका विषयमा प्रशिक्षण दिइनेछ।
सहभागीले आफ्नो समुदाय, संस्कृति र सामाजिक विषयलाई तस्बिरमार्फत अभिव्यक्त गर्ने तथा त्यसलाई व्यावसायिक अवसरसँग जोड्ने विषयमा समेत अभ्यास गर्नेछन्।
कार्यशालाको अन्त्यमा सहभागीले एउटा फोटो कथा वा फोटो फिचर तयार गर्नेछन्।
दुवै कार्यशाला १८ देखि ३५ वर्ष उमेर समूहका युवाका लागि लक्षित छन्। सहभागी हुन पूर्वअनुभव आवश्यक नरहेको आयोजक शान्ता फाउन्डेसनले जनाएको छ। सिक्ने इच्छा, सिर्जनात्मक सोच र सक्रिय सहभागिताको प्रतिबद्धता भएका युवाले आवेदन दिन सक्नेछन्।
महिला, दलित, मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, ग्रामीण तथा अन्य सीमान्तकृत समुदायका युवालाई विशेष रूपमा आवेदन दिन प्रोत्साहित गरिएको छ।
पटकथा लेखन र फोटो कथाकारिता दुवै कार्यशालाका लागि आवेदन खुला गरिएको छ।

आवेदन दिने अन्तिम मिति २०८३ भदौ २१ गते रहेको छ। इच्छुक युवाले https://gle/3nXWBzJQgAcyc2DS8/https://forms.gle/RLSc8rmTa5CcAXwD8 मा गएर आवेदन दिन सक्नेछन्।

कार्यशालाले युवालाई आफ्ना कथा आफैं भन्न, समुदायका आवाजलाई दृश्य तथा डिजिटल माध्यमबाट प्रस्तुत गर्न र सिर्जनात्मक क्षेत्रलाई सम्भावित पेसा तथा आयआर्जनको माध्यमका रूपमा अघि बढाउन आवश्यक सीप तथा अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


१७ भदौ २०८३, बुधवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु