भोटेकोसी बाढी प्रभावितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णयसमेत गरेको छ। स्वास्थ्य टोलीले प्रभावित क्षेत्रमा आवश्यक औषधि उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्नेछ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको सदस्यमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गरिएको सरकारका प्रवक्ता प्रकाश रावलले जानकारी दिए।

प्रवक्ता रावलका अनुसार बैठकले विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वयलाई प्राथमिकतामा राखेको छ।


१२ भदौ २०८३, शुक्रवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु