प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । वालेन्द्र शाह बालेनले प्रधानमन्त्री भएपछि नियमावलीअनुसार आज पहिलो पटक प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदैछन्। सभामुख डिपी अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री बालेन संसदमा जवाफ दिने भएका हुन्।

संसद सचिवालयको कार्यसूची अनुसार आज १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन्। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दैछन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न सोध्दैछन्।

त्यस्तै एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ। तर, यति लामो समय बितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए। विपक्षी दलको निरन्तर अडानपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्दै बुधबारका लागि प्रश्नोत्तर कार्यक्रम राखेका हुन्।

संसद सचिवालयका अनुसार सांसदहरूले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्नेछन्।

यस अगाडि प्रधानमन्त्री स्वयमले सभामुखसँग समय मागेर रोस्टमबाट प्रश्नोत्तर गर्दा आफैंले सीमा मिचिएको विवादित अभिव्यक्ति दिएका थिए। कि प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने कि सभामुखले संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै लामो समय विपक्षी दलले संसद अवरोध गरेका थिए। आज उनले आफ्नो अभिव्यक्तिबारे प्रस्ट्याउने छन्।

आजको बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता, नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्नेछन् ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।


१० भदौ २०८३, बुधवार ०९:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु