सुदूरपश्चिमका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ ले मन्त्रालयअन्तर्गत सञ्चालित बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरेका छन्। मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू सदस्य छन्। समितिलाई बहुवर्षीय ठेक्काको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
समितिको प्रतिवेदनका आधारमा लामो समयदेखि काम अघि बढ्न नसकेका बहुवर्षीय ठेक्काबारे आवश्यक निर्णय लिइने मन्त्री भाटले बताए। वर्षौँदेखि ठेक्का अलपत्र हुँदा नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निर्माण व्यवसायीलाई काममा फर्काउने र काम अघि नबढाउने ठेक्का रद्द गर्ने चेतावनी दिए।
मन्त्री भाटले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको राजमार्ग तथा धनगढी–अत्तरिया सडकखण्डमा दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्न अर्को समिति गठन गर्ने निर्णय पनि गरेका छन्। उक्त समितिको संयोजकमा पनि इन्जिनियर खत्रीलाई नै तोकिएको छ। मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।
सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती, ट्राफिक व्यवस्थापनलगायतका क्षेत्रमा आवश्यक काम अघि बढाइने मन्त्री भाटले बताए। उनले मन्त्रालयको काममा सुशासन र पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले तीनवटा निर्णयमा हस्ताक्षर गरेका थिए ।
८ भदौ २०८३, सोमवार १९:४२ बजे प्रकाशित














