भूगोल र आवश्यकताका आधारमा योजना छनोट हुन्छ:मन्त्री भाट

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले भूगोल र आवश्यकताका आधारमा योजना छनोट गरिने बताएका छन् । नवनियुक्त मन्त्री भाटले आज सोमबार पदभार ग्रहणपछि बोल्दै योजना छनोट गर्दा प्राथमिकताका आधारमा गरिने बताए ।

उनले भने ‘हाम्रो प्रदेशमा तराईँ,पहाड र हिमाली भूगोल छ। योजना छनोट गर्दा भूगोल,जनसंख्या,आवश्यकता र प्राथमितकताका आधारमा अगाडि बढाउने गरि छलफल गरेर अगाडि बढ्ने सोच बनाएका छौँ ।’ त्यस्तै मन्त्री भाटले सुशासन र पारदर्शीताका पक्षमा काम गर्ने गरि अगाडि बढ्ने बताए ।

उनले भने ‘सुशासन र पादर्शीताको क्षेत्रमा अघिल्लो सरकारको भन्दा राम्रो गर्ने हाम्रो प्रयत्न रहन्छ । पूर्णरुपमा नियन्त्रण गर्छौ त म भन्न सक्दिन,बेथितिको अन्त्य गर्छौ ।’ साथै उनले अब बजेट निर्माणमा द्रुत गतिमा जुट्ने बताए । कम्तीमा जनतालाई सन्देश दिने गरि काम गर्ने बताउँदै उनले भने ‘हामीसँग सीमित स्रोत साधन छन्,ती स्रोत साधनको सही सदुपयोग गरेर जति काम गर्न सकिन्छ त्यो गर्ने प्रयत्न गर्छौँ ।’

पदभारग्रहण गर्दै मन्त्री भाटले तीन वटा महत्वपूर्ण निर्णयसमेत गरेका छन् । सवारी दुर्घटना न्युनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक लाईट व्यवस्थापन तथा गोदावरी,अत्तरिया,त्रिनगर,गड्डा चौकीलगायतका विभिन्न स्थानमा एएनपिआर क्यामेरा राख्ने,बर्षोदेखि अलपत्र परेका ठेक्काको एक महिनाभित्र अध्ययन गरेर काम गर्नेलाई काममा लगाउने र काम नगर्नेको ठेक्का रद्ध गर्ने निर्णय गरेका छन् ।

त्यस्तै,प्रदेश सरकारलाई २० मेगावाट भन्दा तलका आयोजनाका लागि अधिकार भएपनि ऐन नहुँदा समस्या भएकाले ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि कानुन मन्त्रालयमा पठाउने निर्णय गरेका छन् ।


८ भदौ २०८३, सोमवार १८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु