नेकपाले सुदूरपश्चिममा मन्त्रीको टुंगो लगायो-राति ८ः३० बजे शपथ
- धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। तत्कालीन नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका नेताहरूलाई मन्त्रालयको जिम्मेवारी दिने गरी नाम सिफारिश गरिएको हो। सिफारिशअनुसार तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, तत्कालीन माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’लाई भौतिक पूर्वाधार विकास मन्त्री र तत्कालीन नागरिक उन्मुक्ति पार्टीका खुसीराम चौधरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने निर्णय भएको छ।
यस्तै, तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी इन्दिरा गिरी र तत्कालीन माओवादी केन्द्रकी जानकी पौडेल कुँवरलाई राज्यमन्त्रीका लागि सिफारिश गरिएको छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको आज राति ८ः३० बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ। मन्त्रीहरूको जिम्मेवारीसँगै प्रदेश सरकारका बाँकी मन्त्रालयमा समेत राजनीतिक समीकरणअनुसार जिम्मेवारी बाँडफाँटको प्रक्रिया अघि बढ्ने बताइएको छ।
५ भदौ २०८३, शुक्रवार २०:१९ बजे प्रकाशित














