पुनर्वासबाटै जग्गा खरिद–बिक्री सेवा सुरु, सेवाग्राहीमा बढ्यो खुसी

कञ्चनपुर। पुनर्वास नगरपालिकाबाटै जग्गा खरिद–बिक्री तथा भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएपछि स्थानीय सेवाग्राही उत्साहित भएका छन्। नगरपालिकाले भूमि व्यवस्थापन शाखामार्फत सेवा सञ्चालनमा ल्याएसँगै पहिलो चरणमा पुनर्वास–६ (साबिक त्रिभुवनवस्ती–१) को जग्गा खरिदकर्ता जीवन सार्की र बिक्रीकर्ता जानकी देवी ओझाबाट जग्गा कारोबार सुरु गरिएको हो।
यसअघि भूमि प्रशासनसम्बन्धी कामका लागि सेवाग्राही छिमेकी नगरपालिका बेलौरीस्थित कार्यालय पुग्नुपर्ने बाध्यता थियो। आफ्नै नगरपालिकाबाट सेवा सुरु भएपछि यातायात खर्च, समय र अनावश्यक झन्झट कम भएको सेवाग्राहीले बताएका छन्।
नगरप्रमुख तोयप्रसाद शर्माले आफ्नै नगरपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न पाउनु गौरवको विषय भएको बताउँदै सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
भूमि व्यवस्थापन शाखामार्फत पहिलो चरणमा जग्गा लिखत पास, राजस्व सङ्कलन, बायोमेट्रिक्स, औँठाछाप, फोटो तथा सङ्केत नम्बरसम्बन्धी कार्य र कित्ताकाट गर्न नपर्ने पूरा कित्ताको कारोबारलगायतका सेवा सञ्चालनमा ल्याइएको छ।
नापी अधिकृतको व्यवस्था भएपछि नाप–नक्सासम्बन्धी सेवा पनि पुनर्वासबाटै सुरु गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ। मुद्दा तथा रोक्कालगायतका कार्य भने तत्कालका लागि बेलौरीबाटै सञ्चालन हुनेछन्।
स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु भएपछि पुनर्वास नगरपालिकाका ११ वटै वडाका सेवाग्राहीले भूमि कारोबारका लागि बेलौरी धाउनुपर्ने बाध्यता हटेको छ। यसबाट समय र खर्चको बचतसँगै सेवा प्रवाह थप सहज, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
१९ साउन २०८३, मंगलवार १६:५१ बजे प्रकाशित































