गेटामा प्राध्यापक र सहप्राध्यापक छनोट

धनगढी। कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सुरु गर्ने उद्देश्यले चार जना प्राध्यापक र १३ जना सहप्राध्यापक गरी १७ जना छनोटको अन्तिम नतिजा आइतबार प्रकाशित गरेको छ । छनोट भएका प्राध्यापकहरुमा फोरेन्सिक मेडिसिनमा डा. केशव श्रेष्ठ, इन्टरनल मेडिसिनमा डा. चिरञ्जीवी पन्त, अफ्थाल्मोलोजीमा डा. विक्रमबहादुर थापा र फार्माकोलोजीतर्फ डा. विजय अर्याल छनोट भएका छन् ।
यस्तै, १३ जना सहप्राध्यापकहरुमा एनाटोमीतर्फ डा। इजु श्रेष्ठ, फिजियोलोजीमा डा. डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा डा. चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा डा. सरोज कुँवर, नर्सिङतर्फर् सीग्मा भट्टराई, ईएनटीमा डा. भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा डा. रविन्द्रदेव भट्ट, जनरल सर्जरीमा डा. विवेक खम्बु, एनेस्थेसियोलोजीमा डा. रोविन खापुङ, डेन्टल सर्जरीमा डा. नशिव पाण्डेय, बालरोग (पिडियाट्रिक्स) मा डा. विकास भण्डारी, रेडियोलोजीमा डा। अशोकराज पन्त र अर्थपेडिक्सको सहप्राध्यापकमा डा। शिवराज पनेरु छनोट भएका विश्वविद्यालय प्रशासनले जनाएको छ । छनोट भएका उम्मेदवारहरुलाई साउन २५ भित्र नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्न भनिएको छ ।
विश्वविद्यालयले यसै शैक्षिक सत्रमा एमबीबीएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री गरी चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगको आवश्यक प्रक्रियामा रहेको जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार भीमबहादुर चन्दका अनुसार प्राध्यापक, सहप्राध्यापक र सहायक प्राध्यापक गरी कूल ७७ जना छनोटको प्रक्रिया चलिरहेको छ । ‘६० जना सहायक प्राध्यापक छनोट प्रक्रिया अन्तिम चरणमा छ,’ रजिष्टार चन्दले भने ‘केही दिनभित्रै सबै जना छनोटको अन्तिम नतिजा प्रकाशित गर्छौं ।’
विश्वविद्यालयले एमबीबीएसमा ५०, बिएस्सी नर्सिङमा ३०, बिएस्सी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० गरी कुल एक सय २० जना विद्यार्थीका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइएको यस अघि नै सार्वजनिक गरेको थियो । विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुनिलकुमार जोशीले तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका ०८२ चैतमै ओएण्डएम स्वीकृत गरिसकेको बताए । यस बेला अन्य कर्मचारी भर्ना, आवश्यक पूर्वाधार ब्यवस्थापन, जनशक्ति, शिक्षण अस्पताल ब्यवस्थापन, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिइएको उपकुलपति जोशीले बताए ।
‘स्वास्थ्य मन्त्रालय अन्तर्गत हाल गेटा अस्पतालमा कार्यरत कर्मचारीहरु विश्वविद्यालय मातहतमा ल्याउने, ओएण्डएम अनुसार दरबन्दी पदपूर्ति गर्नेलगायतका प्रक्रियाहरु तीब्र गतिमा सञ्चालन गरिरहेका छौं,’ उपकुलपति जोशीले भने, ‘शय्या सामग्री ब्यवस्थापनका लागि होल्डिङ सेन्टरमा प्रयोगविहीन रहका बेडहरु ल्याउने प्रक्रियासमेत सुरु भइसको छ ।’
१९ साउन २०८३, मंगलवार १४:१८ बजे प्रकाशित































