पुनर्वासमा इस्टर सण्डे महोत्सव तथा शान्ति र्याली सम्पन्न
कञ्चनपुर । प्रभु येशु ख्रीष्टको पुनरुत्थानको अवसरमा इस्टर सण्डे महोत्सव तथा शान्ति र्याली कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको छ। आइतबार कञ्चनपुर इसाई समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वक्ताहरूले येशु ख्रीष्टले मानव कल्याणका लागि शुक्रबार ज्यान त्याग गरेर तीन दिनपछि पुनरुत्थान भएको धार्मिक विश्वासबारे प्रकाश पारेका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर तामाङले इस्टर पर्वले शान्ति, प्रेम र सहिष्णुताको सन्देश दिने उल्लेख गरेका थिए। उनले समाजमा धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्माले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै नगरपालिकाले आफ्नो कार्यकालमा स्थानीय विदा दिने गरेको कुरा स्मरण गर्दै भने -`सबै धर्म र जातिको समान सम्मान गर्न तथा उनीहरूको संस्कृति संरक्षणमा सक्दो सहयोग गर्न नगरपालिका सधैं प्रतिबद्ध रहने छ।`
पुनर्वास इसाई समाजका अध्यक्ष राजकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो । स्थानीय इसाई धर्मावलम्बीहरूको उल्लेखनीय सहभागितामा शान्ति र्यालीले नगरपरिक्रमा गरेको थियो ।

२४ चैत २०८२, मंगलवार १०:३५ बजे प्रकाशित













