पुनर्वासमा ५ दिने उद्यमशीलता विकास तालिम सम्पन्न
कंचनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा ५ दिने उद्यमशीलता विकास, व्यावसायिक सचेतना तथा व्यवसाय सुरु सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम फागुन २७ गतेदेखि सुरु भई आज समापन भएको हो।
तालिममा नगरपालिकाका विभिन्न वडाबाट करिब ३० जना सहभागी भएका थिए। कार्यक्रममार्फत सहभागीहरूलाई उपयुक्त व्यवसाय छनोट गर्ने तरिका, व्यवसाय सञ्चालनका आधारभूत पक्ष तथा वैदेशिक रोजगारीका क्रममा हुने सम्भावित ठगीबारे समेत सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ। यस तालिमले स्वदेशमै साना व्यवसाय सुरु गर्न सहभागीहरूलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै उद्यम, श्रम तथा रोजगार शाखा अधिकृत कृष्ण भट्टले पूर्वाधार विकास मात्र पर्याप्त नभई नागरिकलाई एकीकृत सेवा उपलब्ध गराउन सके गरिबभन्दा गरिब व्यक्तिले पनि सफल उद्यमी बन्न सक्ने बताए। उनले उद्यम विकासका लागि बजेट सीमित भए पनि उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम आवश्यक रहेको उल्लेख गरे। यस्ता कार्यक्रमले विदेश जान चाहने युवाहरूलाई स्वदेशमै अवसर खोज्न सहयोग पुग्ने उनको भनाइ थियो।
तालिममा सहभागी कृष्ण तामाङले सात वर्ष विदेश बसेपछि आफ्नै ठाउँमा फर्केर काम गर्न पाएको अनुभव सुनाउँदै भने, “आफ्नो जिन्दगी आफैले परिवर्तन गर्नुपर्छ।” स्वदेशमै काम गर्ने अवसर पाउँदा आफू निकै खुशी भएको उनले बताए।
कार्यक्रममा सहजीकरण गर्नेहरूमा सामी परियोजनाकी लक्ष्मी चौधरी, प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की, भीमबहादुर बिस्ट, कृष्ण भट्ट, विमला चौधरी तथा सुजाता तिमिल्सिना रहेका थिए।
कार्यक्रमका क्रममा बोल्दै नगर प्रमुख तोया प्रसाद शर्माले तालिममा सहभागीहरूलाई आगामी दिनमा ३ महिने रोजगारमूलक तालिममा समेत सहभागी गराइने जानकारी दिए। उनले भने, “तालिममा सहभागीहरूको आर्थिक अवस्था सुधार हुन सके मात्र नगरपालिकाको कार्यक्रम वास्तवमै सफल भएको मानिनेछ।”
१ चैत २०८२, आइतवार १७:२३ बजे प्रकाशित













