चुनावका लागि साढे सात लाखले छाडे उपत्यका
काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारणले उपत्यका छाड्ने क्रम बढेको हो।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब ७ लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए। “निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,” उनले भने, “सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ।”
यात्रुको चाप बढेसँगै कोटेश्वर, थानकोट, बल्खु र कलङ्की जस्ता उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ। शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ।
“सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नजिकका प्रहरी एकाइहरूसँग समन्वय गरी निगरानी बढाइएको छ,” शाहले भने। निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको उनले बताए।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा सुरु गर्न सुझाव दिइएको छ।
१९ फागुन २०८२, मंगलवार १६:५९ बजे प्रकाशित












